पहिलो चरणको चुनाव सकिने बित्तिकै मतगणना सुरु गर्ने आयोगको निर्णय

काठमाडौं, ११ वैशाख /निर्वाचन आयोगले स्थानिय तहको पहिलो चरणको चुनाव सकिने बित्तिकै तत्काल मतगणना सुरु हुने जनाएको छ । आयोगले सोमबार​​ पत्रकार सम्मेलन गरेर दुई चरणमा स्थानिय तहको चुनाव हुने भएपनि पहिलो चरणको चुनाव सकिने बित्तिकै त्यसको मतगणना गर्ने जनाएको हो ।

सामान्यतया २ चरणमा चुनाव भएपनि मतगणना एकै पटक गर्ने चलन रहँदै आएको छ ।यसैबिच, प्रमुख निर्वाचन ​ आयुक्त डाक्टर अयोधी प्रसाद यादवले सरकारले चुनावलाई नै लक्षित गरी बजेट सार्वजनिक गर्ने मिति सार्ने तयारी गरिरहेको जानकारी आफूले पाएको बताए । तर बजेट जेठ १५ मै सार्वजनिक गर्ने भएपनि यसबारे आयोगसँग सरकारले छलफल गर्नुपर्ने उनको भनाई छ । बजेट ल्याउँदा चुनावलाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नपाइने पनि उनले बताएका छन् ।

यस्तै, पहिलो चरणको स्थानीय तहको चुनावका लागि उम्मेद्वारी दर्ताको समय २ दिन सरेको छ ।आयोगले वैशाख ३१ गते चुनाव हुने ठाउँमा उम्मेद्वारको मनोनयन दर्ता बैशाख १८ गते गर्ने गरी नयाँ मिति तोकेको हो । यसअघि आयोगले वैशाख १६ गते मनोनन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।आयोगले वैशाख २१ गते उम्मेदवारले नाम फिर्ता लिने र २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र त्यहिँ दिन चुनाव चिन्ह दिने गरी कार्यतालिका संशोधन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, मधेस केन्द्रित दलका नेता र निर्वाचन आयोगका पदाधिकारी बिच भएको छलफलमा उम्मेद्वारी दर्ता वैशाख १८ गते गर्ने गरी नयाँ मिति तोक्ने सहमति भएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।यसैबिच, एकीकरण भएका मधेश केन्द्रित ६ वटा दलले आफूले प्रस्ताव गरेको चुनाव चिन्ह दिन आयोग र सरकारको ध्यानाकर्षण गराएका छन् ।

कमेन्टहरु
Loading...