माओवादीले पोखरा लेखनाथको मेयरमा विश्वप्रकाश र उपमेयरमा गोमा ढकाललाई उठाउने

पोखरा, १९ बैशाख/नेकपा माओवादी केन्द्रले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । सोमबार दिनभरी छलफल गर्दापनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार विहानै उम्मेद्वारको टुंगो लगाएको हो ।

लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए । नगरविकासमा हुँदा उनले फेवातालमा फुट ट्रयाक निर्माण गरेर वाहीवाही कमाएका थिए । लामिछाने फेवाताल संरक्षण उच्चस्तरीय आयोग (अतिक्रमण जग्गा छानविन आयोग)को संयोजक पनि हुन् ।

उनकै संयोजकत्वमा फेवातालको अतिक्रमित जग्गाको पहिचान गरी संरक्षणका लागि सरकारलाई सिफारिस गरेपनि कार्यान्वयन भने भएको छैन । माओवादी केन्द्रले उपमेयरमा गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पर्यटन ब्यबसायी हुन् भने सामुदायिक सेवा केन्द्र बैदामका पूर्व अध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् ।

कमेन्टहरु
Loading...