विश्व पर्यटन दिवसको असवरमा पोखरामा ‘मिनी सडक महोत्सव’

पोखरा, ५ असोज / विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको लेकसाइडमा असोज १० गते ‘मिनी सडक महोत्सव’ हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विश्व पर्यटन दिवसको दिन पोखराको फेवाताल किनार लेकसाइडमा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिए ।

पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्धेश्यले एक दिने मिनी सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका पुर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक सुर्य भुजेलले जानकारी दिए । ‘रोजगार सबैको लागि राम्रो भविष्य’ भन्ने नारासहित मनाउन लागिएको विश्व पर्यटन दिवस पोखरामा पनि मनाउने क्रममा महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सव हल्नचोक चोकदेखि फिस्टेल गेटसम्मको क्षेत्रमा हुने उनले बताए ।

महोत्सव साँझ ५ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खाने कुराका परिकारहरु राखिने उनले बताए । महोत्सवको अवसरमा साँझ सांस्कृतिक कार्यक्रम गरिने भएको छ । खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रम, युवाहरुका लागि लाइभ व्याण्डको प्रस्तुती रहने उनले जानकारी दिए ।

महोत्सव स्थलमा पर्ने हरेक चौतारीमा एउटा/एउटा कार्यक्रम गर्ने लक्ष्य राखेर कहिं पञ्चे बाजा, कहिं सांस्कृतिक नृत्य त कहिं गन्धर्व गायन लगायतका कार्यक्रम राखिएको संयोजक भुजेलले बताए । महोत्सवमा साहसिक खेलकुद तथा पर्यटकीय आकर्षक वृत्तचित्रपनि प्रदर्शनी गरिने उनले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले एक दिने सडक महोत्सवले पर्यटनको विकासमा सघाउने विश्वास व्यक्त गरे । महोत्सव सञ्चालन गर्न करीब साढे २ लाख ५० हजार खर्च लाग्ने आयोज रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...