विश्व बजारमा हुवावेले एप्पललाई जित्यो

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । सन् २०१७ मा केवल १५.३ करोडवटा स्मार्टफोन बेच्न सफल रहेको हुवावेले यो वर्ष बिक्रिको संख्या लगभग ३० प्रतिशतले बढाएको हो । निकेयी एसियनको समिक्षा अनुसार हुवावेले बजेट स्मार्टफोन मात्र नभएर आफ्नो फ्ल्याग्शिप स्मार्टफोन हुवावे पी २० प्रो पनि निकै धेरै मात्रामा बिक्रि गर्न सफल रह्यो । यहि अनुरुप बिक्रि बढ्दै गएको खण्डमा हुवावेले एप्पललाई उछिनेर विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता हुनेछ भ ने प्रथम स्थानमा सामसंग नै कायम हुने देखिन्छ ।

हुवावेले चाइनिज बजारमा मात्र नभएर युरोप, एफ्रिका र भारतम पनि निकै राम्रो सफलता पाइरहेको छ । हुवावेले हरेक मूल्यको स्मार्टफोनहरु उपलब्ध गराइरहेको छ जसले गर्दा धेरै उपभोक्ताहरुले हुवावे स्मार्टफोन खरिद गरिरहेका छन् । तर पनि हुवावेलाई सुरक्षाका दृष्टिकोणबाट अमेरिका, क्यानाडा र अस्ट्रेलिया जस्ता महत्वपूर्ण बजारहरुमा रुचाइएको छैन । हुवावेमा चाइनिज सरकारको संलग्नता रहेको र देशको महत्वपूर्ण डेटाहरु चाइनाले अनैतिक रुपमा पाउन सक्ने सन्देह सृजना भएका कारणले गर्दा अझै पनि थुप्रै देशहरुले हुवावेका नेटवर्क सम्बन्धि उपकरणहरु प्रयोगमा ल्याउन खोजिरहेका छैनन् ।

तर एप्पलको नयाँ आइफोनको बिक्रि पनि गत वर्षको तुलनामा घटेर आएको देखिन्छ । प्रयोगकर्ताहरुले आफ्नो आइफोन केहि धेरै समयका लागि प्रयोग गरिरहने र नयाँ आइफोन निकै महँगो भएको कारणले पनि आइफोनको बिक्रि एप्पलले चिताएको जस्तो नभएको देखिन्छ । बिक्रि कम भएकै कारणले पनि एप्पलले आफ्नो नयाँ आइफोनहरुको उत्पादन घटाएको थियो । जापानमा पनि बिक्रि कम भएका कारणले लन्च भएको केहि साता मै एप्पलले आफ्नो नयाँ आइफोन टेन आरको मूल्य लगभग १०० अमेरिकी डलरले कम गरेको थियो ।

एप्पलको नयाँ स्मार्टफोनहरुको सोचेजस्तो राम्रो बिक्रि नहुनु र हुवावेले एकै वर्षमा ३० प्रतिशत बढी स्मार्टफोन बिक्रि गर्न सक्नु नै सन् २०१९ मा एप्पल दोस्रो ठूलो स्मार्टफोन निर्माताबाट तेस्रो स्थानमा झर्ने संकेत हो ।

कमेन्टहरु
Loading...