भूगोल र भाषाका कारण सिक्किम र नेपालको पर्यटन साझेदारीमा सम्भावना

वासुदेव पौडेल सिक्किम(भारत), ३० जेठ /भारतको सिक्किम राज्य र नेपालको भूगोल तथा भाषामा एकरुपता भएका कारण यिनीबीचको पर्यटनमा साझेदारीका पर्याप्त सम्भावना भएको औंल्याइएको छ । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा केही दिन यता उत्तर पूर्वी भारतमा जारी प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा दुई देशबीचको पर्यटन साझेदारीका सम्बन्धमा आज सिक्किम सरकारको पर्यटन विभागका अधिकारीसँगको छलफलमा उक्त कुरामा जोड दिइएको हो ।

छलफलमा सिक्किम राज्यको पर्यटन विभागका विशिष्ट अधिकृत सिपी ढकालले सिक्किम र नेपाल दुबैको पहाडी भूगोलका साथै सिक्किममा पनि अधिकतम नेपाली भाषाको नै प्रयोग भएका कारण यहाँको पर्यटनमा साझेदारी गर्न सकिने धेरै सम्भावना रहेको बताउनुभयो । “विभिन्न पहाडी भूभाग तथा अन्य विविध प्राकृतिक संरचनामा एकरुपता हुनुका साथै भाषा प्रयोगका दृष्टिबाट दुबै समान छन्,” उहाँले भन्नुभयो, “सिक्किमबाट अधिकतम पर्यटक नेपालमा पठाउनुका साथै नेपालका पर्यटक सिक्किममा आउने वातावरण तयार गर्ने निकै सम्भावना देखिन्छन् ।”

पोखरा, लुम्बिनी, काठमाडौं जस्ता थुप्रै पर्यटकीय स्थल प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेर पनि तिनीहरूको राम्रो उपयोग हुन नसकेको वास्तविकतालाई त्यहाँका राजनीतिक तथा प्रशासनिक निकायका नेतृत्वले गम्भीरताका साथ लिनु आवश्यक भएकोमा उहाँको जोड थियो । दुबै देशबीचको पर्यटनलाई अघि बढाउन अध्ययन अनुसन्धान, अनुभव आदान प्रदान र जनशक्ति विकासका लागि साझेदारी गर्न नेपालको सरकारी तवरबाट आवश्यक प्रकृया पूरा गरी पहल गरिएमा त्यसका लागि सिक्किम सरकार तयार भएको ढकालले  बताउनुभयो ।

सिक्किमको पर्यटन विभागका सह निर्देशक मदन कुमार प्रधानले नेपाल र सिक्किमबीचका समानता समेतका आधारमा यहाँका पर्यटकीय सम्भावनालाई अघि बढाउन सकिने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले भौगोलिक रुपमा समान रहेको सिक्किमको पर्यटकीय विकासबाट नेपालले धेरै सिक्न सक्ने बताउँदै पर्यटकीय विकासका अध्ययन अनुसन्धान, अनुभव आदान प्रदान र जनशक्ति विकास आदिका लागि साझेदारी गर्न आँफूहरू इच्छुक रहेको बताउनुभयो ।

“सिक्किम जस्तै नेपालका पहाडी भूभागमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सकेमा ती भूभाग पर्यटनका उत्कृष्ट गन्तव्य बन्न सक्छन्,” उहाँले भन्नुभयो, “सिक्किमसँगका अनुभवलाई सँगालेर हामी पनि नेपालका भूभागमा अत्यावश्यकीय पूर्वाधारको विकास गरी विश्वकै पर्यटकलाई आकर्षित गर्ने सोचमा छौं ।” नेपालको पर्यटनको इतिहास सिक्किमको भन्दा लामो रहेको बताउँदै थपलियाले पोखरा साहसिक पर्यटनको लागि विश्वमा नै नमूना बन्दै गएकोले सिक्किमले पोखराबाट पनि धेरै सिक्न सक्नेमा जोड दिनुभयो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले सिक्किम क्षेत्रबाट धेरै पर्यटक पोखरा सहित नेपालका पर्यटकीय स्थलहरूमा पुग्ने गरेको बताउँदै नेपालबाट पनि सिक्किम आउनेको संख्या बढ्दै गएको बताउनुभयो । “भूगोल, भाषा, संस्कृति लगायतका विभिन्न दृष्टिबाट नेपाल र सिक्किमबीचको पर्यटकीय साझेदारीका सम्भावना धेरै छन्,” उहाँले भन्नुभयो, “यिनै वास्तविकता र यथार्थतालाई आत्मसात गरी सहकार्य गरेमा पर्यटकीय विकासमा सम्भावना थपिदै जाने देखिन्छ ।”

सन् २०११ को जनगणना अनुसार छ लाख १० हजार जनसंख्या रहेको सिक्किम पूर्ण रुपमा पहाडी भूभाग भए पनि त्यहाँको सरकारले बाटोघाटो लगायतका पूर्वाधार विकासका कारण सुविधा सम्पन्न शहर बनेको छ । पछिल्ला वर्षमा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको सिक्किम जस्ता धेरै पहाडहरू नेपालमा रहे पनि पूर्वाधारकै अभावमा ओझेलमा परेको यथार्थतालाई नेपाल सरकारले आत्मसात गर्दै पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने परिषद्का उपाध्यक्ष पराजुलीको भनाई छ ।

कमेन्टहरु
Loading...