भ्रमण वर्षमा पोखराको ‘रत्न मन्दिर’ खुलाउने तयारीमा गण्डकी प्रदेश

पोखरा, १ पुस/ नेपाल भ्रमण वर्ष २०२० मा फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने तयारीमा गण्डकी प्रदेश सरकार लागेको छ । रत्न मन्दिरबाट भ्रमण वर्षको उद्घाटन गर्ने गण्डकी प्रदेश सरकारले योजना बनाएको छ ।

गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालका अनुसार नेपाल ट्रस्टको स्वामित्वमा रहेको रत्न मन्दिर, प्रदेश सरकार अथा महानगरपालिकालाई ट्रस्टले नै आग्रह गरेपछि प्रदेश सरकार रत्न मन्दिर खुलाउने तयारीमा लागेको हो । यद्यपि, मौखिक सहमतिअनुसार आगामी पुस १६ अर्थात भ्रमण वर्षको उद्घाटन कार्यक्रम नै रत्न मन्दिरमा गर्ने तयारीमा प्रदेश सरकार लागेको छ ।

‘क्याबिनेटबाट निर्णय भएर आउँनु पर्छ, मौखिक सहमति त भई सकेको छ,’ उनले भने, ‘हामीले यसरी सञ्चालन गछौं भनेर ड्राफ्ट तयार पार्दै छौं । यताबाट हामीले पठाई सकेपछि क्याबिनेटबाट स्वीकृत भएर आउछ ।’ महानगर अथवा प्रदेश सरकारमध्ये एकले सञ्चालनेको जिम्मा लिने उनले जानकारी दिए । तर, रत्न मन्दिरको व्यवस्थापन र संरक्षणको जिम्मा भने नेपाल ट्रस्टले नै लिने छ ।

गण्डकी प्रदेशमा भिजिट नेपाल २०२० को लागि ५६ सदस्यीय समिति नै गठन गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा बनाइएको उक्त समितिले भिजिट नेपाल २०२० लाई सफल पार्नका लागि काम अघि बढाएको छ ।

नेपाल सरकारले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु समितिको मुख्य उद्देश्य रहेको भिजिट नेपाल २०२० का गण्डकी प्रदेशका सह – संयोजक अग्नि कँडेलले जानकारी दिए । ‘पर्यटन इन्डस्ट्रीलाई कसरी विकास गर्न सकिन्छ, बढी भन्दा बढी पर्यटक नेपालमा कसरी भित्राउन सकिन्छ, पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको बजारीकरण विश्व बजारमा कसरी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर नेपाल सरकारले भिजिट नेपाल २०२० को आयोजना गरेको छ । हामी पनि नेपाल सरकारको सोही लक्षलाई सफल पार्न लागि परेका छौं,’ उनले भने ।

२० लाख पर्यटक भित्राउने सरकारको योजना सफल पार्न सातै प्रदेशबाट काम थालिएको उनले सुनाए । सरकारी र नीजि क्षेत्रसंगको सहकार्यमा भ्रमण वर्ष सफल पार्न तयारी थालिएको उनले सुनाए ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका एघारै जिल्लाको सहभागीता रहने उनले सुनाए । ‘सबै जिल्लाबाट साँस्कृतिक झाँकि, त्यहाँको साँस्कृतिक गतिविधीलाई प्रस्तुती राख्ने प्रयास गरेका छौं,’ उनले भने, ‘एघारै जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्यलाई भिजिट नेपाल २०२० को माध्यमबाट कसरी बाहिर ल्याउन सक्छौं भनेर छलफल गर्ने छौं ।’

नेपाल भ्रमण वर्ष २०२० को छेकोमा नयाँ पदमार्ग, प्रदेशका एघारै जिल्लाको सांस्कृतिक प्रतिनिधीत्व हुने साथै सबैलाई समेट्ने कार्यक्रमको सुरुआत, होमस्टे प्रबद्र्धन, कालिगण्डकी किनारमा साइकल ट्रेल, अव्यवस्थित पदमार्ग व्यवस्थापन, ताल व्यवस्थापन, अन्तर्राष्ट्रिय बजारमा पर्यटन बजार प्रबद्र्धन, धौलागिरी हिमालको स्वर्णमहोत्सव महोत्सव मनाउँने र प्रदेशका एघारै जिल्लाको पर्यटकीय गन्तव्यलाई पहिचान गरि पूर्वाधार तयार पारेर गण्डकी प्रदेशको पर्यटनलाई व्यवस्थित पार्नको लागि समितिले काम गर्ने वार्षिक कार्ययोजना छ ।

कमेन्टहरु
Loading...