पर्यटन पूर्वाधार विकासका लागि अध्ययन भ्रमण

पोखरा, १५ मंसिर/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको पर्यटकीय विकासलाई लक्षित गरी भरतपोखरी विकास मञ्चको आयोजनामा स्याङजाको सिरुवारीमा अध्ययन भ्रमण गरेको छ ।

भ्रमणका क्रममा नेपालको पहिलो होम स्टे गाउँका रुपमा चिनिएको सिरुवारीमा भैरहेको ग्रामिण पर्यटनका विविध पक्षको अवलोकन गरिएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताउनुभयो ।

भ्रमण टोलीमा मञ्चका पदाधिकारी सहित भरतपोखरीका विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि र सञ्चारकर्मी सहित ४७ जनाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

पोखराबाट अत्यन्त नजिक र पर्याप्त पर्यटकीय सम्भावना बोकेको भरतपोखरीको पर्यटकीय विकासका लागि सिरुवारीको अध्ययन भ्रमण महत्वपूर्ण बन्ने पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो ।

प्रचुर सम्भावनाका बाबजुत भरतपोखरीको अपेक्षित विकास हुन नसकेको वास्तविकतामा प्रत्येक सम्भावानालाई उजागर गर्न यस किसिमका कार्यक्रम अघि बढाइएको मञ्चका महासचिव गणेशप्रसाद ढकालले बताउनुभयो ।

भ्रमण टोलीलाई सिरुवारी होम स्टे व्यवस्थापन समितिका उपाध्यक्ष रत्नबहादुर गुरुङले त्यहाँका विविध पक्ष बारे जानकारी गराउनुभयो ।
भ्रमण टोलीमा मञ्चका सल्लाहकार केशरप्रसाद निर्दोषी, ऋषिराज आचार्य, चेतबहादुर महत, किरण थापा, विश्वेश्वर हरामी लगायतको उपस्थिति थियो ।

भ्रमण टोलीले सिरुवारीस्थित संग्रहालयका साथै पर्वत र स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध तीर्थस्थल डहरे देउरालीको पनि अवलोकन गरेको थियो ।

कमेन्टहरु
Loading...