नेपाल – सिक्किम संयुक्त पर्यटन प्रवद्र्धनमा जोड

वासुदेव पौडेल/ग्याङ्गटोक(भारत), ३१ जेठ । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा मंगलबार सिक्किमको ग्याङ्गटोकमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल र सिक्किमको संयुक्त पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।

अन्तरक्रियामा सिक्किम तथा नेपाल दुबैका वक्ताहरूले उत्तरपूर्वी भारतका सिलगुडी, डुबर्स र सिक्किमलाई समेटेर पोखरा सहित नेपालको संयुक्त पर्यटन प्रवद्र्धनका लागि साझेदारी गर्नका लागि तयार भएको बताए । ट्राभल्स एजेन्ट्स एशोसिएसन अफ सिक्किम(टास)का पूर्व अध्यक्ष सतिश बर्देवाले पोखरा सहित नेपालसँग एक आपसमा भगिनी सम्बन्ध कायम गर्दै बढ्न आँफूहरू तयार भएको बताउनुभभयो ।

भाषा र भूगोलले पनि सिक्किमी र नेपाली पर्यटन व्यवसायीलाई भावनात्मक एकता गराउनेमा उहाँको जोड थियो ।
कार्यक्रममा सिक्किम योङ्गेष्ट टुर्स एण्ड ट्राभल्सका सञ्चालक गणेश सिवाकोटीले आतिथ्यता, सत्कार, सरसफाई जस्ता व्यवहारले प्रत्यक्ष पर्यटनमा प्रभाव पार्ने बताउँदै एक पटक पुगेको पर्यटक पुनः फर्केर आउने किसिमको पर्यटक मैत्री आचरण आवश्यक भएको उल्लेख गर्नुभयो ।

पोखरा सहित नेपालसँग पर्यटनमा सँगसँगै सहकार्य गर्ने धेरै सम्भावना रहेको बताउँदै सहकार्यले एक आपसको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिखा टुर एण्ड ट्राभल्स, सिलगुडीका निर्देशक सुवरात दत्तले सिक्किमको भौगोलिक अवस्थाका भेषभूषा र संस्कृति नेपालसँग मिल्दो रहेको बताउँदै पर्यटन प्रवद्र्धनले दुबै पक्षलाई फाइदा पुग्ने धारणा राख्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलियाले पछिल्ला समयमा सिक्किममा बढ्दो पर्यटकीय आकर्षण नेपालका लागि अनुकरणीय भएको बताउँनुभयो । “पर्यटनको साझेदारीका लागि दुबै पक्ष सहमत रहनुले आगामी दिनमा यसको प्रभावकारिता बढेर जान्छ,” – उहाँले भन्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमले एक आपसको सम्बन्धलाई थप मजवुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“सिक्किम र नेपाल दुबै ठाउँका पर्यटन सम्बद्ध संस्थाबीचको सहकार्यले व्यवसायिक दक्षता अभिबृद्धि थप प्रभावकारी बनाउन सकिन्छ,” – उहाँले भन्नुभयो, “सिक्किमले धार्मिक पर्यटनका माध्यमबाट गरेको विकासलाई दृष्टिगत गरी त्यस किसिमका धार्मिक पर्यटकीय पूर्वाधार विकासलाई नेपाल सरकारले पनि प्राथमिकता दिनुपर्छ ।” उहाँले सिक्किम र पोखराको संयुक्त प्रवद्र्धनका लागि ट्राभल्स एजेन्ट्स एशोसिएसन अफ सिक्किम(टास) र पोखरा पर्यटन परिषद्बीच पर्यटनमा साझेदारीका लागि चाँडै नै समझदारी पत्रमा हस्ताक्षर गरिने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले सिक्किमको पछिल्लो समयको विकास नेपालका लागि अनुकरणीय भएको बताउँदै यहाँका राम्रा पक्षलाई अनुशरण गर्दै जानुपर्ने बताउनुभयो । सिक्किम र नेपाल दुबै स्थानका पर्यटन व्यवसायीको व्यवसायिक एकता र सहकार्य अघि बढाउन सके त्यसले समग्र पर्यटनको विकासलाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

कमेन्टहरु
Loading...