मल्लकालिन कोट भैरव मन्दिरका धार्मिक पर्यटकीय सम्भावना खोजिदै

पोखरा, १६ बैशाख / पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोटभैरव मन्दिरको समग्र विकासका लागि यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । अति प्राचीन मन्दिरका रुपमा रहेर पनि विभिन्न कारणबस आधिकारिक दर्ता नभएका अवस्थामा यही बैशाख ११ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा कोट भैरव संरक्षण तथा सम्बर्धन समिति दर्ता गरिएको छ ।

पर्याप्त सम्भावना भएर पनि ओझेलमा परेको धार्मिक पर्यटकीय तीर्थस्थल कोटभैरवको संरक्षण तथा विकासका लागि कोट भैरव संरक्षण तथा सम्बर्धन समिति औपचारिक रुपमा दर्ता भएसँगै यसको विकास लागि अब बाटो खुलेको समितिका अध्यक्ष चेतबहादुर महतले बताए । “ऐतिहासिकता जोडिएको यो मन्दिरलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने प्रचुर सम्भावना छ,” उनले भने, “ विभिन्न सहयोग साझेदार संस्था समेतको सहयोगमा यसको विकासलाई प्राथमिकता राखी योजनाहरू अघि बढाउने छौं ।”

मन्दिरको विकासका सम्भावनालाई थप उजागर गर्न समितिको आधिकारिक दर्ताले मार्ग प्रसस्त गरेको समितिका सचिव कमलप्रसाद पौडेलले बताए । लामो समयदेखि ओझेलमा परेको यस स्थलको विकासका लागि सम्बद्ध सबैको सहकार्य र सहयोग आवश्यक भएकोमा जोड दिदै उनले त्यसका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे । कोट भैरव संरक्षण तथा सम्बर्धन समितिका प्रचारप्रसार उप समिति सदस्य वासुदेव पौडेलका अनुसार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ स्थित मनियलडाँडा वस पार्कमा पुगी लगभग १० मिनेटको पैदल यात्राबाट कोटभैरव मन्दिर पुग्न सकिन्छ ।

पोखराको विरौटाबाट बागमारा, देउराली हुँदै मनियलडाँडा र बाग्लुङ वसपार्कबाट चिप्लेढुङ्गा, पृथ्वीचोक, पावरहाउस हुँदै मनियलडाँडा सार्वजनिक बस आवतजावत गर्न थालेसँगै मन्दिरमा पुग्न थप सहज भएको उनले बताए । मन्दिरमा भक्तिभाव पूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङजा, तनहु लगायतका विभिन्न जिल्लाबाट दर्शनाथी यो मन्दिर आउने गरेका छन् ।

बरकोटका काला जटा भैरवका रुपमा पुजा गरिने यो मन्दिरमा प्रत्येक वर्षको बडा दसैंमा सप्तशती पाठ सहित फुलपाती भित्राउने, महाअष्टमी, कालरात्रीको विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टिका प्रसाद लगाइन्छ । अती प्राचीन कालदेखि नै अस्तित्वमा आएको मानिने यो मन्दिरमा चैते दसैंमा पनि विशेष पूजा हुनुका साथै प्रत्येक साउने संक्रान्तिमा सामूहिक लुतो फाल्ने चलन छ । विभिन्न मनोकामनाका साथ टाढा टाढाबाट पञ्चवली दिन समेत भक्तजन आउने गर्दछन् ।

कमेन्टहरु
Loading...