चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सव तयारी अन्तिम चरणमा

पोखरा, २३ मंसिर / पोखरा महापालिका २३ चापाकोटमा यसै महिनाको अन्त्यमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराबाट १३ किलोमिटर पश्चिम तर्फ रहेको चापाकोटमा ‘चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृति महोत्सव’ मंसिर २५ देखि २९ गतेसम्म आयोजना हुदैछ । महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए ।

चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ ले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागेको हो । उनले महोत्सवलाई आवश्यक पर्ने बसै तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आउनले पर्यटका लागि स्थानीय खानेकुराबाट स्वागत गर्ने तयारी रहेको बताए ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने लागेको अध्यक्ष पराजुलीले बताए । उनले महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा हास्य कलाकारको प्रस्तुति रहने जानकारी दिए । त्यसैगरी नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगिता महोत्सवको आकर्षण हुनेछन् । तीनै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः ३०, २०, १० र ५ हजार नगदसहित पुरस्कृत गरिने उनले बताए ।

पोखरादेखि १३ किलोमिटर दुरीमा रहेको चापाकोट देउराली सामुदायिक होमस्टे फेवाताल किनार हुँदै ४५ मिनेटको सडक यात्राबाट पुग्न सकिन्छ । पैदल यात्रा गर्दै जाने हो होमस्टे पुग्न करिब अढाइ घण्टा लागछ । प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न भए पनि चापाकोट, हर्पन, चैनपुरलगायत क्षेत्रको उचित प्रचारप्रसार हुन नसको भन्दै महोत्सवको गर्न लागेको उनको भनाई छ ।

चापकोटका २५ घरमा होमस्टे सञ्चालन गरिएको र सबै होमस्टेमा महोत्सवका बेला पर्यटकहरु बसने व्यवस्था मिलाएको चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले बताए । ‘२५ घरमा करिब १ सय ५० जना पाहुनालाई राख्न सकिन्छ । चापाकोटमा जम्मा तीन सय घर छन् । बिस्तारै होमस्टे पनि थप्दै लैजाने योजना छ,’ उनले भने ।

महोत्सवबाट १५ लाख रुपैयाँ आम्दानी गर्ने र १४ लाख ३० हजार खर्च हुने आयोजकको अनुमान छ । बचत भएको रकमबाट भ्यूटावर निमार्ण तथा संस्कृति र स्थानीय झरनाहरुको संरक्षण लगायतका कामको थालनी गर्ने योजना रहेको छ । महोत्सवमा स्थानीय लप्सी, तरुल, दमौरा, मह लगायतका स्थानीय उत्पादनका मात्रै स्टल राखिने आयोजकले जनाएको छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सघाउने भएको छ ।

कमेन्टहरु
Loading...