प्रशिक्षक खड्काको राजीनामा, दुई खेलाडीले लिए सन्यास

पोखरा, २३ मंसिर / साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन् । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावा गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि ‘नैतिकता’का आधारमा राजिनामा दिएको बताएका हुन् ।

‘हाम्रो टार्गेट नै गोल्ड थियो । तर, आफ्नै टार्गेट पूरा गर्न सकिनँ,’ खेलपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले भने, ‘अब यो भूमिकामा अब निभाउँदिनँ । नैतिकताका आधारमा राजिनामा घोषणा गर्दैछु ।’ उनको प्रशिक्षण साफ च्याम्पियनसिप र नाजेदा गोल्डकपमा पनि भारतसँगै हार ब्यहोर्नु परेको थियो ।

खड्काले फाइनलका सबै गोल आफ्नै कमजोरीले भएको पनि स्वीकारेका छन् । उनले भनेका छन्, ‘गोलकिपरलाई जुन इन्स्ट्रक गरेको थिएँ । पहिलो गोलमा डिफेन्स र गोलकिपरबीच केही कम्युनिकेसन ग्याप हुन पुग्यो,’ उनले भने, ‘दोस्रो गोल पनि आफ्नै कारणले हुन पुगेको हो ।’

१३ औं साग अन्तर्गतको महिला फुटबल प्रतियोगितामा हार ब्यहोरेसँगै नेपाली महिला टिम क्याप्टेन निरु थापा र मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । नेपाल प्रहरीमा आबद्ध थापाले मैत्रीपूर्ण खेलका लागि गत वर्ष नेपाली महिला फुटबल टोली चिन जाँदा पहिलो पटक कप्तानी सम्हालेकी थिइन् ।

भारतीय राष्ट्रिय टिमका प्रशिक्षक म्यामल रक्कीले इतिहास दोहो¥याउन पाएकोमा खुसी व्यक्त गरिन् । ‘जसरी हामीले सोचेका थियौं, खेल त्यही अनुसार भयो । हामी अत्यन्तै खुसी छौं,’ उनले भनिन्, ‘नेपाल पनि धेरै राम्रो देश हो । तर, फाइनलमा जित निकाल्न पाउँदा खुसी छौं ।’

 

कमेन्टहरु
Loading...