अन्नपूर्ण क्षेत्रमा नयाँ पदयात्रा मार्ग ः गाउँ छिचोल्दै हिमाल हेर्दै !

वासुदेव मिश्र
कास्की, ३० वैशाख / कहिले आफ्नो उचाईभन्दा पहाड होँचो जस्तो, कहिले  खोँचमा हराउँदा आफ्नै उचाई घटेजस्तो । कहिले आँखामा टाँस्सिने हिमाल आफ्नो कुमसम्म मात्र आउँदा संसार जितेजस्तो ।  अनि कहिले हिमालतिर चियाउँदा टोपी नै खस्ला जस्तो !
“हिमाली क्षेत्रको पदयात्रामा निस्कँदा सधैजसो यस्तै लाग्छ ”, नेपाल टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल ( टान ) पश्चिमाञ्चलका अध्यक्ष समेत रहनु भएका रामचन्द्र शर्माले भन्नुभयो,“ त्यसैले त पदयात्रा सधैँ हनिमुन जस्तो लाग्छ ।”  पदयात्रा पथप्रदर्शकको परिचय हो–रामचन्द्रको । पर्वतको बनौँदेखि सुरु हुने नयाँ पदयात्रा मार्ग खोजीको क्रममा निस्किएका बेला आफूजस्तै हजारौँ पदयात्रा पथप्रदर्शकको मुखिया समेत रहनुभएका शर्माको अभिव्यक्ति हो यो ।

टान पश्चिमाञ्चको टोली पुराना पदयात्रा मार्गहरु मोटरबाटोले बिगारेपछि वैकल्पिक पदयात्रा मार्गको खोजीमा निस्किएको हो । पछिल्लो समय, एकोहोरो हिँडाई र दृष्यावलोकनको अलावा हिमाली क्षेत्रको ग्रामीण संस्कृतिको बारे पर्यटकलाई जानकारी दिने उदेश्यले टानले गाउँहरु छिचोल्दै जङ्गल पस्ने अनि जङ्गल छिचोल्दै गाउँ पस्ने पदयात्रा मार्गको खोजी थालेको उहाँको भनाइ छ । यो बाटो मार्ग अन्नपूर्ण पदयात्रा क्षेत्रभित्रै पर्छ ।  पर्वत जिल्लाको बनौँ गाविसबाट सुरु हुन्छ यो पदयात्रा मार्ग ।

पोखराबाट १ घण्टाको मोटरयात्रा अनि २ घण्टाको हिँडाईपछि पुगिन्छ–बनौ । समुद्र सतहदेखि करिब करिब २१ सय मिटर उचाइमा रहेको बनौ पुन मगरहरुको बस्ती हो । पुन मगरहरुको संस्कृति, घाँटु र ठाडो भाका, गाउँमै उत्पादन गरिएको लोकल रक्सीको मत्याउने स्वाद यहाँको विशेषता हो । पर्यटकलाई गाउँलेकै घरमा सुताउने यहाँको चलन ।स्थानीयवासी तथा पर्यटक पथप्रदर्शक अर्जुन पुनका अनुसार पर्वतको नयाँपुल हुँदै पुनहिल पुग्ने वैकल्पिक मार्ग समेत हो यो ।  पर्यटकहरुको चहलपलहल  बढ्न थालेपछि गाउँमा होमस्टे समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

 “पर्यटकहरु सधैँ नयाँ ठाउँ जान मन पराउँछन् त्यसैले यो टे«ल चल्ने सम्भावना धेरै छ ।”–गाउँ नजिकै २५९० मिटरको उचाईमा  रहेको हल्जुरेको डाँडाबाट अन्नपूर्णदेखि र लमजुङ हिमालसम्मको श्रृङ्खला देखाउँदै उहाँले भन्नुभयो,“ यहाँ आएपछि पर्यटक आफै लोभिन्छन् ।”

टान पश्चिमाञ्चलका  कोषाध्यक्ष इन्द्रमान चौहानका अनुसार आवश्यता अनुसार पदयात्राको दिन घटाउन तथा बढाउन सकिनु यो पदयात्रा मार्गको विशेषता हो । त्यहाँबाट पर्वतकै बनौँ सालिजा, लेखाफाँट हुँदै म्याग्दीको राम्चे गाविसको नागी हुँदै पुनहिल जान पाउनु यो पदयात्रा मार्गको विशेषता हो । नागी महावीर पुनको गाउँ हो । नागीमा जन्मेका महावीर पुनले गाउँमा सामुदायिक पर्यटनको अवधारणा भित्र्याउँदै गाउँहरुलाई बेतारे इन्टरनेटमार्फत संसारसँग जोड्नु भएको छ ।

पर्यटन उद्योगको लाभ गाउँका सबैले पाउनुपर्छ भन्ने मान्यता अनुसार गाउँमा समुदायकै पहलमा सामुदायिक होटल निर्माण गरिएको छ । त्यहाँ पुग्ने पर्यटकहरुले खाना र बस्नको लागि खर्चेको पैसा समेत समुदायकै लागि खर्च गरिन्छ । “कहिले पसिना चुहाउँदै उकालो चढ्नु, कहिले हिमाल हेर्दै डाँडाडाँडै तेर्सिनु त कहिले समुदायसँग बसेर साँस्कृतिक कार्यक्रमको मज्जा लिनु यो पदयात्राको विशेषता हो”,टान पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले थप्नुभयो,“गाउँलेहरुलाई पर्यटन उद्योगको लाभ चखाउन र उनीहरुको आर्थिक उन्नति गराउन पनि हामीले गाउँ छिचोल्दै अगाडि बढ्ने पदयात्रा मार्गको खोजी अभियान चलाएका हौँ ।”नयाँ पदयात्रा मार्गलाई अहिले देखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार थालिएको पनि उहाँले जनाउनुभयो । टान पश्चिमाञ्चलले पोखरा आएका पर्यटकहरुलाई अन्नपूर्ण क्षेत्रका विभिन्न भागमा पदयात्राको लागि पठाउने गर्छ ।

कमेन्टहरु
Loading...