पोखरामा ‘मिनी सार्क’ आजदेखि

सागर राज तिमिल्सिना
पोखरा, १ चैत्र /दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा सुरु हुँदैछ । बिहीबारसम्म चल्ने विदेशमन्त्री स्तरीय बैठकका लागि सहभागी आउने क्रम जारी छ ।

पोखरामा ‘मिनी सार्क’ आजदेखि
पोखरामा ‘मिनी सार्क’ आजदेखि

सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक पोखराको बिरौटास्थित पाँचतारे पोखरा ग्रान्डमा हुनेछ । सोमबार र मंगलबार सहसचिवस्तरीय बैठक, बुधबार सचिबस्तरीय र अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ ।  बैठकका लागि होटलका सबै बैठक र कोठा बुकिङ भएका छन् । होटलका चार वटा बैठक कोठा र १ सय ४० वटा कोठा पाहुनाका लागि बुकिङ गरिएको छ । नपुगेमा अर्को होटल सांग्रिला र फिस्टेल लजमा राखिने छ ।

पाकिस्तान र श्रीलंकाको सहसचिवस्तरीय टोली र सार्क सचिवालयका अधिकारी आइतबारै दिउँसो पोखरा आइसकेको परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिए । अन्य देशका सहभागी काठमाडौंबाट सडकमार्ग हुँदै आएका छन् । विभिन्न विषयका बैठकमा सार्क राष्ट्रका विषयगत करिब ८० भन्दा बढी प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । विदेशी सहभागीको दृश्यावलोकन र व्यक्तिगत भ्रमणबारे खुलाइएको छैन । तर, उनीहरू आफ्नै तरिकाले पोखरा घुम्न सक्ने पश्चिञ्माचल क्षेत्रिय प्रशासक शंकरप्रसाक कोइरालले जानकारी दिए ।

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् । मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री केपि ओलो चैत ३ गते पोखरा आउने कार्यक्रम रहेको छ ।सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तान सदस्य छन् ।

कमेन्टहरु
Loading...