लेखनाथका सात ताल जोड्न लिंक रोड निमार्ण सुरु

प्रकाश ढकाल
पोखरा, ९ साउन /कास्कीको लेखनाथमाका सात वटै ताललाई जोड्ने गरी लिकं रोड निर्माणको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय पोखराले बहुबर्षिय आयोजना अन्तर्गत ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो । सडक निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवाले पाएको छ ।

सडक निर्माणको काम हालसम्म १५ प्रतिशत सकिसकेको कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । बहुबर्षिय ठेक्का भएकाले कहिले सक्ने भन्ने टुंगो हुँदैन, उनी भन्छन्–अहिलेको बजेटले एक छेउदेखि अर्को छेउसम्म मोटर चल्न सक्ने बन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पहिलो चरणमा सडकको ट्रयाक खोल्नका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

रुपै राम्रो रुपातालको ः तस्विर गिता रानामगर
रुपै राम्रो रुपातालको ः तस्विर गिता रानामगर

सडक निर्माण भएपछि लेखनाथमा रहेका सातवटै ताल गाडीमा डुल्न सकिन्छ । सडक निर्माणले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने पर्यटन ब्यवसायीहरुले बताएका छन् । लेखनाथको कालिकाचोकदेखि सुरु हुने सडक जलधारे, राखिडाँडा, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्चले, लामास्वाँरा, रुपातालको फेदी, जनताको चौतारा हुँदै पृथ्वीराजमार्गको तल्लो गगनगौडामा पुगेर जोडिने छ । सडकमा अहिले ट्रयाक विस्तारसँगै स्तरोन्नतीको काम समेत भैरहेको छ ।

आवश्यक ठाउँमा नाला निर्माण, ग्राभेल र कल्भर्ट निर्माणको काम पनि सँगसँगै भएको सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले बताए । सडकमा यसअघि पनि सानो बजेटमा धेरै काम भैसकेको सडक निर्माण समितिका संरक्षक सुर्य मोहन भट्टराईले जानकारी दिए । बर्षेनी १५ देखि २० लाखसम्म बजेट खर्च भएको छ, थोरै बजेट भएकाले देखिने गरी काम गर्न सकेका थिएनौं, उनले भने–अहिले बजेट बढेर आएको छ, बजेट निकासा पछि बाटो निर्माणको बाटो प्रशस्त भयो । सडक ८ मिटर फराकिलो बन्नेछ ।

स्थानीयको विरोधपछि निर्माण स्थगित
बर्खाको समयमा सडक खन्दा ताललाई असर गर्ने भन्दै स्थानीयले तत्कालका लागि सडक निर्माण कार्य रोकेका छन् । डिभिजन सडक कार्यालयमा डेलिगेशन नै आएर निर्माण कार्य रोक्न आग्रह गरेका थिए । स्थानीयसँगको छलफल पछि कार्यालयले भदौ मसान्तसम्मका लागि सबै काम स्थगित गरेको छ ।

बर्खामा पानी परेकै बेला सडक खन्दा पहिरिएर तालमा असर पर्न सक्छ, सरोकार समितिका अध्यक्ष खेम बहादुर गुरुङले भने–अहिले काम रोकेर पानी पर्न छाडेपछि थाल्नुपर्छ । उनका अनुसार पछिल्लो समय रुपाकोट ६ भंगारा र लेखनाथ ६ अर्चलेमा काम भैरहेको थियो । असोज १ गतेदेखि रोकिएकै ठाउँबाट काम सुरु हुने डिभिजन सडक कार्यालयले जनाएको छ । उनीहरुले लेखनाथ १० र रुपाकोट १ जोड्ने बिर्ताको चौर नजिक झोलुङ्गे पुल निर्माणका लागि पनि जिविसलाई दवाव दिएका छन् ।

प्रमुख जिल्ला इञ्जिनियर नारायण श्रेष्ठ र स्थानीय विकास अधिकारी दामोदर भण्डारीलाई भेटेर तत्काल पुल निर्माणका लागि आग्रह गरेका हुन् ।

कमेन्टहरु
Loading...