बुटबल ब्लाष्टर्समाथी चितवनको फराकिलो जित (PPL)

पोखरा, ३ पुस / चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (PPL) को शीर्ष स्थानमा उलिएको छ । बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण केसीले उत्कृष्ठ बलिङ गरे ।

पोखरा रंगशाला क्रिकेट मैदानमा बुटवल ब्लाष्टर्सका बलर महंगा सावित हुदाँ केसीले बुटवलका व्याट्सम्यानलाई सस्तैमा पभेलियन पठाएपछि फराकिलो जित निकाले । केसीले ३.४ ओभर बलिङ गर्दै ११ रन मात्रै दिएर ४ विकेट लिएपछि बुटवल १८.४ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटियो । अफ्ताबुद्धिन अहेमद २, शंकर राना ५, हरिबहादुर चौहान १२ र विपिन खत्रीले १ रनमै क्रिज छाडेपछि बुटवलले २०४ रनको लक्ष्य पछ्याउन निकै सकस पर्यो ।

शिवम सिंहले सर्वाधिक ३३ रन बनाए । ३३ बल नै खेलेका उनले ६ छक्का र १ चौका आफनो इनिङ्समा सामेल गराए । उनी पनि भुवन कार्कीको हातबाट क्याच भएपछि भीम सार्की आईपुगे । सार्कीले पनि २१ रन बनाउन २१ बल नै खेले । बाँकी ब्याट्सम्यान दोहोरो अंकको रन छुन सकेनन् । चितवन बाहेक अन्य टोलीले भने हार व्यहोरिसकेका छन् । पिपिएलको दोस्रो संस्करणमा पोखरा र काठमाडौंले समान तीन खेलमा दुई हार व्यहोरेका छन् ।

पहिलो विकेटको लागि ११७ रन र तेस्रो विकेटको लागि ६९ रनको साझेदारी निभाएपछि चितवन राईनोजसले नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेटमा बुटवल ब्लाष्टर्ससलाई ३ विकेटको क्षतिमा २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चितवन राईनोजका ओपनिङमा आएका कप्तान पारस खड्का र रोहन मुस्तफाले पिपिएलमै पहिलो विकेटको लागि शतकीय साझेदारी गरे । खड्का र मुस्तफाले पहिलो विकेटको लागि गरेको शतकीय साझेदारी पिपिएलमै पहिलो हो ।

खड्काले ६३ र मुस्तफाले ३७ रन बनाउँदै ११७ रनको साझेदारी गरेका हुन् । पहिलो विकेट लिन बुटवलले ११.३ ओभर खर्चिएको थियो । महत्वपूर्ण साझेदारी गर्ने क्रममा खड्का अफ्ताबुद्धिन अहेमदको बलमा सोमपाल कामीको हातबाट क्याच भए । उनले ४० बल खेल्दै ६ चौका र २ छक्का हिर्काए । पारसपछि क्रिज सम्हाल्न आएका बावर हायात १ रनमै पभेलियन तर्फ फर्किए । रोहनले आरिफ शेखसँगको साझेदारीमै आफनो अर्धशतक पुरा गरे ।

तेस्रो विकेटको लागि १४ रनको साझेदारी गर्दै रोहनले पोखरा प्रिमियर लिग(पिपिएल)मा आफनो पहिलो अर्धशतक पुरा गरे । यद्यपी उनीहरुको जोडीले टुट्दा ६९ रनको साझेदारी निभाए । रोहनले अविजित रहने क्रममा ५६ बलको सामना गर्दै ७ चौका र दुई छक्का सामेल गराउँदै ७० रन बनाए ।

आरिफले १९ बलमा ४० रन जोड्ने क्रममा १ चौका र ३ छक्का हिर्काए । क्विन्स इभेण्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित बिहीबारको प्रतिस्पर्धामा म्याच अफ दि म्याच भने अविजित रहेका रोहन मुस्तफा घोषित भए ।

कमेन्टहरु
Loading...