‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी गरिदै

पोखरा, ९ चैत/‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी गरिने भएको छ । यहि चैत ११ गते शनिबारदेखी पोखरा उद्योग वाणिज्य संघको सभाहल र अमृत कक्षमा ‘पुरानो पोखरा’का संकलित फोटोहरु प्रदर्शनी गरिन लागेको हो । प्रदर्शनीमा ५० वर्ष भन्दा पहिलेका फोटोहरु प्रदर्शनीका लागि राखिने तस्वीर संकलक तथा कार्यक्रम संयोजक सुनिल उलकले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदर्शनीमा पोखराको सबैभन्दा पुरानो तस्वीर पनि राखिने भएको छ । वि.स.१९८१ सालमा नेपालकै पहिलो फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिने उलकले बताए । उक्त तस्वीर पोखराकै पहिलो र सबैभन्दा पुरानो तस्वीर भएको उनको दाबी छ ।

३ दिनसम्म चल्ने प्रदर्शनीमा सन् १९६२ मा पोखरा आएको ‘अमेरीकन पिस कर्प भोलन्टियर’ का १०७ जनाले खिचेका २३ हजार तस्वीरहरु मध्ये पुराना र पोखराको तत्कालिन अवस्था बोल्ने ८४ फोटोहरु राखिने उनले जानकारी दिए । जुन फोटोहरु ‘अमेरीकन पिस कर्प भोलन्टियर’कै एक सदस्य डगलस हलले उपलब्ध गराएको उनले बताए । डगलसले अन्य १०६ जनासँग फोटो खिचेकै समयमा प्रतिलिपी अधिकार लिएका र अहिले पचास वर्ष पुगेकाले डगलसले अन्र्तराष्ट्रिय मान्यता अनुसार आफूलाई प्रतिलिपी अधिकार दिएपछि प्रदर्शनी गर्न लागेको उनको भनाई छ ।

उलकले प्रदर्शनीमा व्यक्ति विशेषको भन्दा पनि स्थान विशेषका फोटोहरु राखिने छन् । जसले पोखराको ईतिहास झल्काउनुका साथै पोखराको परिवर्तनको आभास दिलाउने उनको विश्वास छ । प्रदर्शनीमा सन १९५५ देखी १९५७ सम्म खिचिएका १४ वटा भिडियो क्लिप्स पनि प्रदर्शन गरिने उलकले बताए ।

उलकले फोटो प्रदर्शनी पछि ति फोटोहरुलाई म्यूजियममा राख्ने सोंच बनाएको बताए । आर्थिक सहयोग जुटे आफैले संग्रहालय बनाएर राख्ने नत्र पोखरा अन्र्तराष्ट्रिय संग्रहालय वा त्यस्तै कुनै एक संग्रहालयलाई प्रदर्शनीमा राख्नका लागि दिने सोंच बनाएको बताए ।

फोटो प्रदर्शनीको फोटोग्राफर तथा ‘पुरानो पोखरा’का फोटो संकलक डगलस हलले उद्घाटन गर्ने बताइएको छ । उद्घाटन कार्यक्रममा सहभागि हुन डगलस अमेरीकाबाट नेपाल आउँदैछन् । सो अवसरमा डगलसले आफूसँग भएका सबै २३ हजार फोटोहरु आफूलाई हस्तान्तरण गर्ने उलकले जानकारी दिए । फोटो प्रदर्शनी सुनिल उलकको एक्लो प्रयासमा हुन लागेको हो । प्रदर्शनीका लागि पोखरा लेखनाथ महानगरपालिका र पोखरा उद्योग वाणिज्य संघले सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...