पोखरा लेडसाइड २४ सै घण्टा खुल्छ – खनाल (भिडियो सहित)

पोखरा, ३ भदौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखरा पर्यटकीय केन्द्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिने बताएका छन् । उनले राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा ख्याल गर्नु पर्ने बताए ।

उनले चर्को आवाज दिने मोटरसाइकल नियन्त्रण लिन तथा रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न कार्वाही गर्न प्रहरीलाई निदेशन दिए । उनले व्यवसायलाई पनि पैसामात्र कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले पोखराको लेकसाइडमा हुने गरेका अवाञ्छित क्रियाकलाप रोक्न गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिए । उनले प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेलाई निर्देशन दिँदै भने, ‘लेकसाइडमा पूरै अप्रेसन गरिदिनोस् । ठूलो आवाज दिने मोटरसाइकल ल्याएर राखिनोस् । ठूलो जरिवाना गराउनुहोस् ।’

लेकसाइड चौबीसै घण्टा खुलाउने विषयमा विवाद उत्पन्न भएको सुनेको जानकारी दिँदै भने, ‘समस्या समाधानका लागि नागरिक समाज, होटल व्यवसायी, डिस्को मिलेर आउनुहोस् । बसौं कसरी जाने भन्ने कुरा राखौं । सहज छ । प्रहरी लाठी लिएर कतिञ्जेल बस्नुपर्ने ?’
होटल व्यवसाय, डिस्को वा अन्य व्यवसाय सबै निश्चित मापदण्डमा रहनुपर्नेमा जोड दिँदै दर्ता प्रक्रियामै ध्यान दिनुपर्ने बताए ।

उनले प्रहरीसँग सबै अधिकार नभएको अन्तिममा थिग्रिन बेलामा मात्र प्रहरीकहाँ आउने परिपाटी हुन नहुने बताए । उनले भने, ‘सबैले विजनेस पनि चलाइराख्नुपर्ने । सबैले पैसा पनि कमाउनुपर्ने ? कसरी हुन्छ समाधान ? मिलेर जाऔंन ।’

आईजी खनालको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले लेकसाइडमा शुक्रबारदेखि लेकसाइडमा रातिको समयमा प्रहरी गणबाट ५० जनाको संख्यामा थप प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले यस विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै अदालतको आदेश नआइकिन सबै कुरा बोल्न नमिल्ने उल्लेख गरे । डीआईजी घिमिरेले आश्वस्त पार्दै भने, ‘लेकसाइडमा रातिको समयमा पनि शान्तिसुरक्षा हुनेमा ढुक्क रहनुहोस् ।’

कमेन्टहरु
Loading...