संघमा तलव भत्ता पाइन्न, उद्योगी÷व्यापारीको सेवामा मेरो उम्मेदवारी !– कोषाध्यक्षका प्रत्यासी पवनकुमार प्रजापति

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३१औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका आंकाक्षीहरुले उम्मेदवारी घोषणा गर्दै मतदातासँग भोट माग्न थालेका छन् । व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको चुनाबले सिङ्गो पोखराले पनि चासो राख्ने गर्छ । संघ व्यापारिक मात्र नभएर सामाजिक संस्था पनि भएकोले संघप्रति आम मानिसको समेत चासो बढेको हो । असोज १ गते हुने निर्वाचनको लागि संघका वर्तमान कार्यसमिति सदस्य पवन प्रजापतिले आफूलाई कोषाध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।

पवन प्रजापति
पवन प्रजापति

संघमा दुई कार्यकाल सदस्यको रुपमा बिताएका प्रजापतिले संघमा रहँदा विभिन्न उपसमितिमा बसेर व्यापारीको हितको लागि काम गर्दै आएका छन् । किचनका सामाग्रीको पसल अलावा प्रजापति रियलस्टेट र फिल्म निर्माणमा समेत सक्रिय छन् ।

खेलकुद क्षेत्रमा विशेष रुची राख्ने प्रजापतिको कोषाध्यक्षमा उम्मेदवारी किन त ? हामीले उनलाई सोधेको पहिलो प्रश्न नै यही थियो ।

–दुई कार्यकाल सदस्यको रुपमा रहँदा पोखरा उद्योग वाणिज्य संघको इतिहास, यसले सम्पादन गर्ने कार्यहरु, व्यवसायीका पीरमर्काहरुलाई नजिकबाट बुझ्ने मौका पाएँ । पोखरा उद्योग वाणिज्य संघ लामो र गर्विलो इतिहास बोकेको संस्था हो । ब्यापारीको हितमा काम गर्दै आए पनि संघले सामाजिक कार्यहरु र विकास निर्माणका कार्यमा पनि उत्तिकै चासो राख्दै आएको सर्वबिदितै छ । संघमा उत्साहपूर्ण रुपले दुई कार्यकाल बिताउँदा संघमै रहेर अझ बढी व्यवसायीको हितको लागि काम गर्ने सोच उब्जनु अस्वभाविक हैन । संघ÷संस्थामा रहेर काम गर्दा माथिल्लो जिम्मेवारीको आशा गर्नु सायद नाजायज हैन । ४ वर्ष संघमै बिताएपछि म मा पलाएको आत्मविश्वासकै कारण मैले यस पटक कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

रह्यो कुरा, किन कोषाध्यक्ष नै भन्ने ? यसमा मेरो यति मात्र भन्नु छ–संघले सम्पादन गर्ने आर्थिक क्रियाकलापलाई कुशलतापूर्वक सम्पन्न गर्नु नै हो । पोखरा उद्योग वाणिज्य संघलाई बाहिरबाट धनी संस्थाको रुपमा हेरिँदै आएको छ । व्यवसायीहरुको संस्था भएकोले यस्तो देखिनु अस्वभाविक हैन । संस्थासँग आर्थिक सहयोगको अपेक्षा राख्ने विभिन्न सामाजिक संस्थाहरु पनि बढी नै छन् ।

संघले सामाजिक कार्यमा आफूसँग भएको स्रोत परिचालन पनि गर्दै आएको छ । संस्थाका आम्दानीका स्रोतहरु सिमित छन् । ती स्रोत परिचालन गर्दै संघलाई अगाडि बढाउनु चुनौतिपूर्ण रहेको छ । संस्थालाई आर्थिक रुपले बलियो बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ । पैसा भए न खर्च गर्ने हो ! पैसा जुटाउन सके उद्योगी÷व्यवसायीलाई आवश्यक पर्ने तालीम, गोष्ठीलगायतका क्षेत्रका अलावा सामाजिक कार्यमा पनि योगदान गर्न सकिन्छ भन्ने मेरो मान्यता हो ।

संघलाई आर्थिक रुपले बलियो बनाउने भन्नुभयो, त्यसको लागि कुनै योजना पनि छ कि ?

निश्चय पनि । मैले संघलाई नजिकबाट बुझेको छु । संघको वार्षिक बजेट साढे ४ करोडको हाराहारीमा छ । सचिवालय संचालन, तालीम गोष्ठी, सामाजिक कार्य, चन्दा, अनुदान र विकास निर्माणमा मुख्यतया ः यो रकम खर्च हुँदै आएको छ । संघले हिजोको दिनमा पोखरा विश्वविद्यालय निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विकासका अभियानको लागि लविङ र पैरवी गर्दै आए्को थियो । अहिले पनि समग्र पोखरा र पश्चिमाञ्चलको विकासको लागि यस्ता अभियान चल्दै आएका छन् । त्यस्ता गतिविधी गर्न पनि पैसा चाहिन्छ नै । यसका अलावा, संघको आन्तरिक जीवनमा ठूलो मात्रामा रकम खर्च हुन्छ । आम्दानीको स्रोत भनेको चाहिँ सदस्यता शुल्क, हामीसँग भएको हल भाडा, लगायतका क्षेत्र नै हुन् । आम्दानी बढाउनको लागि सदस्य संख्यामा बृद्धि, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ÷संस्थाहरुसँग मिलेर परियोजनाहरु संचालन गर्ने, विभिन्न खाले मेला र प्रदर्शनीमार्फत कोष बृष्द्धि गर्ने मेरो लक्ष्य रहेको छ ।

संघले ठूला ठूला कुरा मात्र गर्छ, आफ्ना सदस्यहरुका साना समस्या संवोधन गर्दैन भन्ने आरोप छ नि ?

पोखरा उद्योग वाणिज्य संघ व्याापारीकै संस्था हो । संस्थाको मेरुडण्ड भनेका व्यापारी नै हुन् । उनीहरुको समस्या संवोधन नगर्ने भने कसको कुरा गर्ने ? संघले व्यवसायीमाथि आई पर्ने समस्याहरुको समाधानको लागि सदैव पहल गर्दै आएको छ । कर लगायतका नीतिगत विषयमा नेपाल सरकारसँगै कुरा उठाएको छ भने व्यापारीमाथि आई पर्ने अन्य समस्याहरु समाधानको लागि स्थानीय प्रशासन धाउने देखि उचित वातावरण मिलाउने काम गर्दै आएको छ । पोखरा उद्योग वाणिज्य संघ सामाजिक संस्था पनि भएकोले सिंगो पोखराको विकास लगायतका मुद्धाहरुमा निरपेक्ष बस्न सक्दैन । आखिर पोखरा राम्रो भयो भने त्यसको लाभ व्यवसायीले पनि पाउने नै हो ।

पछिल्ला दिनहरुमा संघको चुनाव भड्किलो हुँदै गएको र गुट उपगुट निर्माण पनि तल्लोस्तरमै झरेर हुने गरेको छ भन्ने बजार हल्लाको वास्तविकता के हो ?

चुनाव प्रचार प्रसारमा सदस्य महानुभावकहाँ जानै प¥यो । त्यसरी हिँड्दैमा भड्किलो भयो भन्ने आरोप हो भने मेरो भन्नु केही छैन । हो, व्यवसायी भनेका राज्यको कानून भित्र रही व्यवसाय गर्ने वर्ग हो । व्यवसायी भनेको माग्ने जात हैन । व्यवसायीको जीवनस्तर आम मानिसको भन्दा केही राम्रो देखिनु अस्वभाविक हैन । अर्कोतर्फ, गुट उपगुटको चर्चालाई चाहिँ फरक ढंगले बुझिनुपर्छ भन्ने मेरो मान्यता छ । संस्थामा लागेपछि बिस्तारै जिम्मेवारपूर्ण पदमा पुगौँ भन्ने सबैलाई लाग्छ । त्यो उपक्रममा स्वच्छ प्रतिष्पर्धा हुनु अस्वभाविक हैन । प्रतिष्पर्धाको क्षणमा कसैलाई कोही मन पर्ला, कसैलाई कोही । त्यस्तो बेला चुनावमा फरक फरक धार देखिनुलाई गुटबन्दीसँग तुलना गर्न मिल्दैन । मेरो हकमा म संघको चुनावमा गुटबन्दी र राजनीतिले प्रवेश नपाओस् भन्ने चाहन्छु । सबै साथीहरु आ–आफ्नो क्षमता अनुसार माथि बढ्नु पर्छ । सकेसम्म नेतृत्व सर्वसम्मत नै बनाउनुपर्छ भन्ने मेरो ध्येय हो ।

अहिले अध्यक्षका प्रत्यासीहरु धेरै देखिएका छन् । तपाईँले पनि मनले खाएको कोही होला नि त !

हो, त्यस्तो देखिएको छ । अहिले चर्चामा रहेका सबै साथीहरुसँग मेरो समान मित्रता छ । साथीहरु आफू–आफूमा सहमति गरेरै अगाडि बढौँ भन्ने मेरो मान्यता हो । यसको लागि बरु कसले कहाँ कति त्याग गर्ने भन्ने कुरा पनि खुलस्त राखौँ । साथीहरुलाई मिलाउने अवस्था आए त्यागको लागि म पनि तयार छु भनेर मैले भन्दै आएको छु । त्यसो हुन नसके मित्रवत प्रतिष्पर्धा गरौँ भन्ने हो ।

अन्त्यमा कुनै नसोधिएको प्रश्नको उत्तर दिनु छ ?

चुनाव नजिकिँदै आएको छ । अहिलेसम्म प्राप्त अनुभवको आधारमा मैले कोषाध्यक्षमा आफूलाई प्रस्तुत गरेको छु । उद्योगी÷व्यवसायीबाट सकारात्मक सहयोगको आश्वासन प्राप्त भएको छ । उहाँहरुको सदासयताप्रति म नतमस्तक छु । म सबै सदस्य महानुभावहरुसँग कोषाध्यक्ष पदमा मलाई मत दिनको लागि बिनम्रतापूर्वक अनुरोध गर्दछु । पोखरा उद्योग वाणिज्य संघ पैसा कमाउन जाने संस्था होइन । त्यहाँ न तलब पाइन्छ न भत्ता नै । आफ्नो गोजीको खर्च गर्न नै त्यहाँ जाने हो । म यो मान्यतामा स्पष्ट छु । संघमा गएर सदस्य महानुभावको हक र हितमा काम गर्ने र संस्थालाई बलियो बनाउने मेरो उदेश्यमा यहाँहरुको सहयोगको खाँचो रहेको पुन ः अवगत गराउन चाहन्छु । र, तपाईँलाई पनि मुरीमुरी धन्यवाद !

कमेन्टहरु
Loading...