पाल्पा बस दुर्घटनामा १४ जनाको मृत्यु, १३ घाइते

पाल्पा, १८ जेठ/पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा तानसेन –३, की मुना सारु मगरको ज्यान गएपछि मृत्यु हुनेको संख्या १४ पुगेको हो ।पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको श्रीनगर यातायात समितिको बस शुक्रबार​ रम्भा गाउँपालिका–४, हुमिनमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।२७ जना यात्री सवार लु २ ख ९७५ नम्बरको बस बाटोबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमातानसेन नगरपालिका–२ का लोकनाथ ढकाल, तानसेन–३ का देवेन्द्रलाल प्रधान, सोही स्थानका छत्रमान शाक्य, वसन्ती खाँण, कमला कार्की, कृष्णमान बज्राचार्य, मुना सारु मगर, तानसेन–४ का विष्णुमान बज्राचार्य, सोही स्थानका डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्ण बहादुर बोहरा, तानसेन–६ का सुशील प्रसाद श्रेष्ठ, सोही स्थानका दुर्गा बहादुर सारु, गीता बुढाथोकी, दुर्गादेवी श्रेष्ठ र सचिन बज्रार्चाय रहेका छन् ।बस दुर्घटनामा परि गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । घाइते प्रबिन बज्राचार्य, सन्तम बज्राचार्य र अनुज थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अन्य घाइतेको पाल्पाको युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पदाधिकारीहरु, कर्मचारीसहित अन्य अतिथि रामपुरका विभिन्न सहकारी संस्थाको अवलोकनमा जानेक्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मृतक सबै तानसेन नगर भित्रका परेपछि तानसेन शोकमग्न भएको छ ।यसैबिच, पाल्पाकै तिनाउ गाउँपालिका–३ हेडबक्समा गएको पहिरोले पुरेर शुक्रबारै रम्भादेवी गाउँपालिका–४ का मोहन रेश्मी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...