नेपाल ओलम्पिक कमिटीले विभिन्न समिति गठन, राणा र प्रधानलाई मानार्थ अध्यक्ष

पोखरा, ४ चैत/ नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारिणी समितिको तेश्रो पुर्ण बैठकले पोखरामा सम्पन्न भएको छ । कमिटीको बैठकले रुक्म शम्सेर राणा र धुर्ब बहादुर प्रधानलाई मानार्थ अध्यक्ष मनोनयन गर्ने निर्णय गरेको एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठले बताएका छन् । विगत १२ वर्ष देखि नेपालमा दुई वटा एनओसी रहँदै आएको थियो । बैठकले विभिन्न विभागहरु (कमिसन) गठन गरेको छ ।

बैठकले नेपाल ओलम्पिक कमिटीमा कार्यकारी निर्देशक पदमा उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई नियुक्त गरेको छ । यसैगरी पूर्व खेलकुद मन्त्री द्वय पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई कमिटीको सल्लाहकारमा तथा बरिष्ठ अधिवक्ता लोकभक्ता राणालाई कानूनी सल्लाहकारमा मनोनयन गर्ने निर्णय गरिएको उनले बताए ।

नेपाल ओलम्पिक कमिटीले वार्षिक साधारण सभाको अवसरमा अवार्डसमेत वितरण गर्ने भएको छ । बैठकले हरेक साधारण सभामा ओलम्पिक अभियानमा योगदान दिने छापा, फोटो, अनलाईन, टेलिभिजन, उत्कृष्ट ३ राष्ट्रिय संघहरु तथा वर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुलाई नगद २५/२५ हजारसहित अवार्ड वितरण गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बैठकले चिल्ड्रेन अफ एसियन गेम्स नेपालमा आयोजना गर्नका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण कम भएपछि यो प्रतियोगिता आयोजना गर्नका लागि सरकारलाई आग्रह गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए ।

बैठकले महिला तथा खेलकुद विभाग संयोजकमा कमिटीकी उपाध्यक्ष ज्योति राणा, संस्कृति विभागको संयोजकमा सचिव रामजीबहादुर श्रेष्ठ, मार्केटिङ विभागको संयोजकमा सदस्य गोपाल कक्षपति र सदस्यमा प्रकाश शमशेर राणा, सबैका लागि खेलकुद विभागको संयोजकमा विष्णुगोपाल श्रेष्ठ, मेडिकल विभागको संयोजकमा डा.सरोजकृष्ण श्रेष्ठ, खेल मनोविज्ञान विभागको संयोजकमा ईन्द्र गुरुङलाई चयन गरेको महासचिव मिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

खेलकुद मार्फत शान्ति विभागको संयोजकमा रमेश महर्जन, खेलकुद तथा वातावरण विभागको संयोजकमा गोवद्र्धन श्रेष्ठ, जानकारी र तथ्यांक विभागको संयोजकमा मोहन नेपाललाई तोकेको छ । एथ्लेटिक्स विभाग र ओलम्पिक एशोसियसन विभाग भने गठन गर्न बाँकी रहेको र यो ३ महिना भित्रमा चुनावको माध्यमबाट गठन गर्ने निर्णय भएको महासचिव श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रिय खेलकुद र च्याम्पीयनसीपहरुको संयोजकमा पिताम्बर तिम्सिना, अन्र्तराष्ट्रिय खेलकुदको संयोजकमा महासचिव निलेन्द्रराज श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यसै गरि नेपाल ओलम्पिक कमिटीको कार्यक्रम गर्न अशोकरत्न बज्राचार्यलाई संयोजक तोकेको छ । बैठकले गैर नेपाली आवासीय नेपाली संघको संयोजकमा उपाध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय संघहरुको संयोजकमा चतुरानन्द राज वैद्यलाई जिम्मा दिएको उनले बताए ।

कमेन्टहरु
Loading...