न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

न्युजिल्याण्ड, १ चैत /न्युजिल्याण्डका दुई क्राइस्टचर्चका मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका उल्लेख गरेका छन् ।

बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरू माथि अन्धाधुन्द गोली चलाएका थिए । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला बताएकी छन् ।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ’कालो दिन’ भएको बताएकी छन् । यो घटनासँग सम्बन्धित एक महिला सहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन् । न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरी नसकेको बताए ।

हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन् । उनले यो हमलाकारीहरूलाई’ अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन् ।

सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ । शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन् ।

कमेन्टहरु
Loading...