नेपाल आइडलको तेस्रो संस्करण बिहीबार (आज) देखि

पोखरा, ३ पुस /नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण बिहीबार (आज) देखि सुरु हुने भएको छ । तेस्रो संस्करणको नेपाल आइडल प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ ।

देशका प्रमुख सहर पोखरा, बुटवल, नेपालगञ्ज, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने छन् ।

सांगीतिक क्षेत्रमा राम्रो ज्ञान भएका प्रतियोगीको उल्लेख्य सहभागिताले यो संस्करण अझै बढी रोचक र प्रतिस्पर्धात्मक हुने निर्देशक एलिन श्रेष्ठले बताए । नेपाल आइडल ३२ श्रृखलामा प्रसारण हुने गरेको भएपनि दर्शकको चाहना अनुसार यो सिजनमा केही श्रृखला थप हुन सक्ने निर्माण टिमले जनाएको छ ।

नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन् । प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष रहने आइडल टिमले जानकारी दिएको छ ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा धनगढीका रवी ओड बिजेता बनेका थिए ।

कमेन्टहरु
Loading...