बुटवलका तीन नगरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल

बुटवल, ३१ जेठ/स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीका एक उपमहानगर र दुई महानगरमा नेपाली काग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको छ । बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको हो।

तिलोत्तमा नगरपालिकामा यसअघि नै तालमेल गरी उम्मेदवार घोषणा गरेको भएपनि बुटवल र देवदहमा भने मंगलबार मात्रै तालमेलको घोषणा भएको हो। जसअनुसार बुटवल उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई उम्मेदवार बनाइएको छ। त्यस्तै देवदह नगरपालिकामा पनि मेयरमा नेपाली काँग्रेसका हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रका टीका न्यौपाने गौतम उम्मेदवार बनाउने सहमति गरेको छ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हकिकुल्ला खाँद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा तालमेल गरिएको दुबै स्थानका उम्मेदवारहरुलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, सुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ। १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ८ सय ४३ मतदाता रहेको छन्।

पहिलो चरणको निर्वाचनमा कांग्रेस र माओवादीले पोखरा र भरतपुर महानगरमा तालमेल गरेका थिए। काँग्रेसले बुटवल उपमहानगरपालिकामा जनमुक्ति पार्टीसँग केही वडाहरूमा तालमेल गरिसकेको छ भने उपमेयरको लागि माओवादी केन्द्रसँग तालमेलको ढोका खुला राख्दै पद खाली राखेको थियो ।

 

कमेन्टहरु
Loading...