मुक्तिनाथ विकास बैंक अब काठमाण्डौमा

पोखरा, १४ फागुन /पोखराको मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा काठमाण्डौको महाराजगंजमा खोलेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले शाखाको औपचारिक समुद्घाटन गरे ।

राष्ट्रिय स्तरको विकास बैंक भएपछि राजधानीमा पहिलो शाखाको रुपमा यसलाई सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए । हाल बैककाका शाखा र सीमित बैंकिङ्ग गरी ५० वटा सेवा प्रदायक कार्यालयहरु सञ्चालनमा रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हालको प्रतिस्पर्धि बैंकिङ्ग क्षेत्रमा, दुरदराजमा वित्तीय सेवा अझै पुग्न नसकेको अवस्थामा, मुक्तिनाथ विकास बैंक जस्ता ग्रामीणमुखी विकास बैंकले नेतृत्वदायी भूमिका खेलेको बताए ।

निजी क्षेत्र मार्फत हुने विकासका कार्यहरुलाई सरकारले प्रोत्साहित गर्नु पर्ने र लक्षितवर्गको उन्नतीको लागि अधिकतम वित्तीय सेवाहरु प्रदान गर्नु पर्नेमा पनि जोड दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले प्रदान गर्दै आएका सेवा सुविधाहरु तथा भावी कार्यक्रमहरुको बारेमा जानकारी गराए ।

डेभलपमेण्ट बैंकर एसोसियनका अध्यक्ष कृष्णप्रसाद लामिछानेले विकास बैंकहरु मध्येमा उत्कृष्ट बैंक हुन सफल मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेका समावेशी वित्तीय सेवा रणनीतिहरुलाई देशव्यापी रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गरी देशका १२ वटा जिल्लाहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको यो बैंकको प्राथमिक पूँजी रु. १ अर्ब २० करोड, चुक्ता पूँजी रु. ८३ करोड ८४ लाख, निक्षेप रु. ९ अर्ब २३ करोड, लगानी रु. ७ अर्ब ८६ करोड र दोश्रो त्रैमास सम्मको सञ्चालन मुनाफा रु. २४ करोड ९२ लाख रहेको छ ।

यसले लघुवित्त कार्यक्रम तर्फ ८७ हजार जना सदस्यहरुलाई लघु कर्जा रु. २ अर्ब ४८ करोड र बचत रु. १ अर्ब ३४ करोड परिचालन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।

कमेन्टहरु
Loading...