बट्टाको दूध शिशुका लागि मृत्युको घन्टी !

२१ साउन, काठमाण्डौं । बट्टाको दूध खाने शिशु मृत्युदरको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । बट्टाको दूधमा शिशुलाई आवश्याक पौष्टिक तत्त्व नहुने, प्रोटिनको मात्रा असन्तुलित हुने भएकाले आमाको दूधभन्दा २३ गुणाले बढी हानिकारक हुने बाल स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुई महिनाभन्दा कम समयका शिशुलाई बट्टाको दूध खुवाउँदा झाडापखालालगायतले मृत्यु हुने बाल स्वास्थ्य महाशाखाका निर्देशक डा.सनेन्द्रराज उप्रेतीले बताए । उनका अनुसार ६ महिनामुनिका बच्चालाई आमाको दूध मात्र सेवन गराए पनि पर्याप्त हुन्छ ।
‘दुई महिनामाथि र ६ महिनामुनिका बालबालिकालाई बट्टाको दूध खुवाउँदा आमाको दूधभन्दा १६ पटक बढी जोखिम हुन्छ,’ उप्रेतीले भने, ‘बच्चा जन्मेको एक घन्टाभित्र स्तनपान गराउनु सबैभन्दा राम्रो मानिन्छ । यो समय आमाको दूधमा पौष्टिक तत्त्व उच्च रहने हु“दा स्वास्थ्य राम्रो हुन्छ ।’ नेपालमा ६५ प्रतिशत बच्चाले जन्मिएको एक घन्टामा स्तनपान गर्न नपाउने अध्ययनले देखाएको छ । जन्मेको दिन ८५ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने २८ प्रतिशत नवजात शिशुलाई जन्मनासाथ अन्य खाना खुवाउने गरेको पाइएको राजधानी दैनिकमा खबर छ ।
जसका कारण जन्मनेबित्तिकै शिशुमा विभिन्न समस्या देखिने गरेको छ । शिशुले स्तनपान गर्न नपाउ“दा बाल मृत्युदरमा १३ प्रतिशत बढेको छ । महाशाखा निर्देशक उप्रेती जन्मेदेखि दुई वर्षसम्मका बच्चाले नियमित स्तनपान गराउँदा १३ प्रतिशत बाल मृत्युदरमा कमी आउने दाबी गर्छन् । ‘नेपालमा बालबालिकाको कुल मृत्युदरको ४५ प्रतिशत कुपोषणबाट हुने गरेको छ, यसको मुख्य कारण समयमा शिशुलाई स्तनपान नगराउनु नै हो ।’ अहिले महिलामा शारीरिक सौन्दर्य बिग्रिने भ्रमका कारण बच्चालाई निश्चित समयसम्म स्तनपान गराउन छोडेको उप्रेतीको तर्क छ । तर, स्तनपान गराउँदा बच्चालाई मात्र नभएर आमालाई समेत फाइदा पुग्ने उनी बताउँछन् ।
cp. onlinekhabar.com

कमेन्टहरु
Loading...