तन्नेरी रोजाइमा पोखराको मेरो चित्र

श्याम राना / पोखरा न्युरोडका साइनिङ मगर आफ्नो गेटअपमा निकै कन्सस छन् । बजारमा नयाँ डिजाइनका कपडा आयो कि उनको पनि गेटअप चेन्ज हुन्छ । भन्छन्, ‘ड्रेसअपले नै मान्छेको व्यक्तित्व झल्काउँछ ।’

यस्तै नयाँबजारका सुर्दशन पनि नयाँनयाँ गेटअपमा सजिन रुचि राख्छन् । नयाँ र आफू सुहाउँदो कपडा आयो कि किन्न भ्याइहाल्छन् । यी दुई प्रतिनिधि पात्रमात्र हुन्, पोखराका । अहिले पोखरा बद्लिँदो समयको अनुशरण गर्दै आफूलाई फेसनेबल गराउँदै लगिरहेको छ ।

साथिसाथिबीच भेटघाट गर्दा होस् या चिया गफ, फेसबुक च्याट । तन्नेरीबिच कस्तो कपडा लगाउने छलफल चलिरहन्छ । कहिलेकाहीँ उनीहरुबीच गुनासो पनि भइरहन्छ, ‘भनेजस्तो कपडा नै पाइदैन ।’

फेसनका पारखी तन्नेरीलाई मध्यनजर गर्दै न्युरोडमा खुलेको छ, ‘मेरो चित्र’ कपडा पसल । जुन पसल अहिले तन्नेरीको फेसन गन्तव्य भएको छ । रोजेजस्तो कपडा किन्न पाइने भएपछि भीडभाडले पसल भरि देखिन्छ । पसलका सञ्चालक दिल श्रेष्ठ भन्छन्, ‘ग्राहकको भीड लाग्दाभरि पसल खुल्लै हुन्छ, कहिलेकाहीं त झमक्कै साँझ पर्छ ।’

पसलको मुख्य आकर्षण भनेकै आफूले रुचाएको चित्र आफ्नै कपडामा प्रिन्टेड पाउनु हो ।

त्यसमा नेपाली कला तथा मौलिकतालाई विशेष जोड दिइएको छ । समयसन्दर्भसँग मिल्ने भनाइ र उखानटुक्का पनि चर्चित नै छ मेरो चित्रको ।

व्यवसायका हिसाबले दिल श्रेष्ठ युवा व्यवसायी हुन् । उसो त उनको परिवार नै व्यवसायमा संलग्न छ । उनका दाजु पसलको व्यवस्थापकीय पाटो हेर्छन । बुबा आर्थिक पक्ष सम्हाल्छन् । ‘सुरुमा फेन्सी पसल थियो । पछि कारणबश बन्द भयो,’ श्रेष्ठ भन्छन्, ‘पछि पोखरामा नयाँ तरिकाको व्यवसाय गर्न कपडामा ग्राहकको रोजाइ नै प्रिन्ट गरेर व्यापार गर्न थालको हुँ ।’

श्रेष्ठ आफू भने कम्प्युटर इन्जिनियर हुन् । ग्राफिक डिजाइन र फाइन आर्टका विद्यार्थी पनि । ‘आर्टमा पहिलेदेखि नै रुचि थियो,’ भन्छन्, ‘त्यसैले चित्र बनाउन पनि पाइने र व्यापार पनि हुने भएपछि यो व्यवसायमा लागें ।’ ०७२ मा सुरु भएको पसलकोे अहिले ३ वटा शाखा छन् । २ वटा पोखरा मै छन् भने अर्को काठमाडौंमा ।

‘काठमाडौं र लेकसाइडमा अन्य स्थानको भन्दाबढि बिक्री हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘पर्यटकको चाप बढि भएर पनि होला ।’ व्यवसायमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि भएको उनी बताउँछन् । आवश्यकता कहिले पूरा नहुने र थपिँदै जाने हुनाले धेरै मेहेनत गर्नुपर्ने उनको तर्क छ ।’

प्रत्यक्ष १४ जनालाई रोजगार दिइरहको मेरो चित्रले युवालाई लक्षित गरेर व्यवसाय सुरु गरेको श्रेष्ठ बताउँछन् । भन्छन, ‘परिवारिक सहयोग र टिमवर्क राम्रो भएर नै व्यवसाय सफल भएजस्तो लाग्छ ।’ फेसनमा कन्सस पोखरेली पारखीलाई मौलिकतासँगै पहिचान झल्कने चित्र प्रिन्ट गरेर फेसनलाई नयाँ उचाइ दिइरहेको उनको दाबी छ ।

कमेन्टहरु
Loading...