क्षेत्रीय बसपार्क निर्माणमा दबाब दिन्छौं ः करण

पोखरा, १२ भदौ /नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं कास्की संयोजक राजकाजी गुरुङ (करण) ले लेखनाथको लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण गर्न आफ्नो पार्टीले दबाब दिने बताएका छन् ।

लेखनाथ १६ को छप्ल्याङमा शुक्रबार आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले रिङरोड सहित क्षेत्रीय बसपार्क निर्माणमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले वर्तमान गठबन्धन सरकारले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको टुंगो र जनजीविका परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘१० वर्षे जनयुद्ध र विभिन्न चरणमा भएका आन्दोलनको उपलब्धी रक्षा गर्नु नै वर्तमान सरकारको प्रमुख दायित्व हो,’ उनले भने । प्रशिक्षणमा नेता गुरुङले अहिलेदेखि नै चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवजी लामिछाने, नगर अध्यक्ष विनय थापा, नगर सचिव बोधराज लामिछाने, नगर प्रतिनिधि पुष्पकमल ढुंगाना, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव अर्जुन मल्ल, माओवादी जिल्ला सदस्य भरत कुँवर लगायतले बोलेका थिए । माओवादी केन्द्र लेखनाथ १६ का अध्यक्ष गोपाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्देश पुनले गरेका थिए ।

कमेन्टहरु
Loading...