मनकामना केवलकार पोखरा कपमा पत्रकारसँग सुझाव संकलन

पोखरा, २४ चैत/पोखरा रंगशालामा अर्को साता सुरु हुने पाँचौ मनकामना केवलकार पोखरा कप–२०७२ मा आयोजक कास्की जिल्ला फुटबल संघले पत्रकारको सुझाव संकलन गरेको छ । खेललाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ तथा रिपोर्टिङमा पत्रकारका कठिनाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारेमा विभिन्न संचारमाध्यममा कार्यरत खेल पत्रकारको सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा पत्रकारले रिपोर्टिङको लागि सहज प्रवेश हुनुपर्ने, सूचनाका लागि आयोजकका तर्फबाट प्रवक्ता तोक्नुपर्ने, खेल हरेक दिन निर्धारित समयमा हुनुपर्ने लगायतका सुझाव दिएका छन् । पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले खेलको सफलताको कामना गर्दै पत्रकारलाई रिपोर्टिङमा सहजता हुनुपर्ने बताए ।

नागरिक दैनिकका सन्तोष पोखरेलले खेल दैनिक दिउँसो १ बजेदेखि सुरु गर्नुपर्ने सुझाव दिए । इमेज टेलिभिजनका प्रदीप पौडेलले प्रवेशमा सहज हुनुपर्ने बताउँदै हावाहुरी र पानी पर्ने मौसम भएकोले त्यही अनुसार खेल मैदानमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । खेलकुद पत्रकार मंच कास्कीका निवर्तमान अध्यक्ष विनोद लामिछानेले आयोजकले अतिथिलाई मर्यादित व्यवहार गर्नुपर्ने तथा पत्रकारलाई आवश्यकताअनुसार पास व्यवस्था हुनुपर्ने बताए ।

कान्तिपुर टेलिभिजनका इन्द्र पौडेलले क्यामेरपर्सनका व्यवस्थित स्थान तय गर्न सुझाव दिए । राजधानी दैनिकका विजय नेपालले मिडियापर्सनलाई सहज प्रवेश दिनुका साथै प्रवक्ता तोकिनुपर्ने बताए । पिसपोखराका गोकुल बानियाँले मूलद्वारमै कार्ड खोजतलास रोकिनुपर्ने सुझाव दिए । एबिसी टीभीका एमबी आस्थाले टिकट काउन्टर व्यवस्थित हुनुपर्ने औल्याए ।

खेलकुद पत्रकार मंचका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठले समाचारमा गल्ति न्यूनीकरणका लागि सही सूचना सम्प्रेषणको व्यवस्था गरिनुपर्ने बताए । मंचका सचिव दीननाथ बरालले पत्रकारलाई रिपोर्टिङमा सहजता हुनुपर्ने बताए । एभिन्यूजका सागराज तिमिल्सिनाले सोसल मिडियालाई पनि उचित स्थान दिई आयोजकलाई समयक्रमअनुसार अघि बढ्न सुझाव दिए ।

कान्तिपुर टेलिभिजनका बसन्तराज अधिकारीले भीआईपी प्यारापिटमा दर्शक खचाखच राख्न नहुने सुझाव दिए । पत्रकारका सुझावपछि विगतका तीता घटना भुल्दै आगामी दिनमा खेललाई सभ्य र भव्य बनाउन आफूहरु प्रयत्नशील हुने कास्की जिल्ला फुटबल संघ अध्यक्ष धरमसिंह लामिछानेले प्रण गरे । संघका द्धितीय उपाध्यक्ष एवं खेल संयोजक मिलन गुरुङले पोखरामा खेल विकासमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै पोखरा कप सफल पार्न आफूहरु दत्तचित्त रहेको बताए ।

संघका प्रथम उपाध्यक्ष कुमार गुरुङले आफूहरु अन्तिम तयारीमा रहेको उल्लेख गर्दै खेल सफल पार्ने जिम्मा पत्रकारको रहेको बताए । पोखरामा यसअघि चार संस्करण सम्पन्न भैसकेको पोखरा कप नाकाबन्दी तथा विभिन्न कारण निर्धारित समयभन्दा झण्डै ६ महिना सरेको हो । चैत ३० देखि बैशाख ११ सम्म पोखरा रंगशालामा हुने फुटबल प्रतियोगितामा विदेशी २ सहित १२ टिमको सहभागिता रहने खेल संयोजक मिलन गुरुङले बताए । विदेशी टिम छिट्टै तय हुने उनले बताए । यसबाहेक प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र नेपाली सेना, ए डिभिजनका मनाङ मस्र्याङदी, थ्री स्टार क्लब र झापा–११, मोफसलको धरान–११, सिमरा–११, रुपन्देही–११ र आयोजकको १ टिमले सहभागिता जनाउनेछन् ।

संघले यसअघि लक्ष्मी गु्रपअन्र्तगतको सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा ३ वर्ष सफल पोखरा कपको नाममा प्रतियोगिता गर्दैआएकोमा चौथो संस्करणदेखि मनकामना दर्शन प्रालिद्धारा संचालित मनकामना केवलकारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्दैआएको छ । आयोजकले यसपालि पुरस्कार राशी बढाएको छ । विजेताले ५ लाख ५ हजार ५५५, उपविजेताले २ लाख ५५ हजार ५५५ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्स, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...