ल्होछार आगमनको अवसरमा तमु धिं नेपाल सँस्कृतिमय

पोखरा, १४ पुस/ तमु धिं नेपाल आइतवार सँस्कृतिमय बन्यो । तमु जातिको नयाँबर्ष, महान चार्ड ल्होछार च्यु ल्हो आगमनको अवसरमा आयोजित च्यु ल्होछार साँस्कृतिक विशेष कार्यक्रमले तमु धिं सँस्कृतिमय बनेको हो।

च्यु ल्होछारलाई साँस्कृतिक बनाउने र तमु धिं नेपालको साँस्कृतिक कोष स्थापना गरी तमुहरुको सँस्कृति संरक्षण गर्ने उद्धेश्यका साथ आयोजित कार्यक्रममा तमुहरुको प्रिय गायकहरु धनबहादुर गुरुङ, निशा गुरुङ, डबिन गुरुङ, ममता गुरुङ र एलिना गुरुङको गायन र साँस्कृतिक परिवार, स्टार्स स्टुडियो, तनहुँ तमु समाज, मिलिजुली बिजयपुर तमु समाज, चिउली पार्चे तमु समाज, जोगिमणी तमु समाज, फिर्के तमु समाज, प्रतिमा र उमा गुरुङको नृत्य प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ गायक धनबहादुर गुरुङ र सफल व्यवसायी नारायण गुरुङलाई सम्मान गरिएको थियो। गायक गुरुङलाई साँस्कृतिक क्षेत्रमा पुराएको योगदानको कदर गर्दै नगदसहित आँधीखोला फेन्सी स्टोर्सका तर्फबाट साँस्कृतिक सम्मान गरिएको थियो भने तमु धिं नेपालका केन्द्रीय सदस्य व्यवसायी गुरुङलाई तमु धिं नेपालले कार्यक्रमका लागि विशेष योगदान दिनुभएको भन्दै सम्मान गरेको हो।

गायक गुरुङलाई नगद, सम्मानपत्रसहित र व्यवसायी गुरुङ लाई सम्मानपत्रले सम्मान गरिएको थियो। गुरुङद्धयलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशको पर्यटन बर्ष संयोजक जुद्धबहादुर गुरुङ र सभाध्यक्ष तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले नगदसहित सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथी गुरुङले शुभकामना व्यक्त गर्नुहुदै ल्होछार राष्ट्रिय सँस्कृति भएकाले राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो। उहाँले पर्यटन वर्षकाका लागि तमुहरुको पनि साथ जरुरी रहेको छ भन्नुहुदै सँस्कृतिकै धनि समुदायकै साँस्कृतिक पक्षले पनि पर्यटक आकर्षित हुने भएकाले ल्होछार जस्ता साँस्कृतिक पर्वहरुले व्यापकता पाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा सम्मानित बोल्नुहुदै नारायण गुरुङले समाजका लागि योगदान दिने एक न एक दिन सम्मानित हुने भन्नुहुदै कार्यक्रमका लागि साथ दिने मुख्य प्रायोजक, सहप्रायोजक र प्रायोजकहरुसँग समुदायको सहकार्य हुनुपर्ने बताउनुभयो।

कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गिरीप्रसाद गुरुङ र साँस्कृतिक समितिका सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रमका लागि शिवम सिमेन्ट मुख्य प्रायोजक, रेडाटा कम्पनी प्रालि सहप्रायोजक रहेको साँस्कृतिक संयोजक मेनकाजी गुरुङले बताउनुभयो।

यसै गरी ल्होछारको अवसरमा तमु धिं नेपालले पुस १४ गते रक्तदान कार्यक्रम, सरसफाई, तमु ह्युला चोकमा दिप प्रज्वलनका साथै तमु धिंमा स्यो कैं गरिने भएको छ।

पुस १५ गते समाज समाजमा, गुम्बा र क्होइवोमा ल्होछार भव्यताका साथ भनाउने भएको छ भने पुस १६ गते कस्केली गुरुङहरु लेखनाथको तालचोकमा भेला भई शुभकामना र्यालीसहित भण्डारढिकस्थित खेलमैदानमा सामुहिक ल्होछार/ल्होसार कार्यक्रम गर्ने आयोजकले जनाएको छ।

र्यालीमा प्रथम हुने समाजलाई २० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार रुपैयासहित पुरस्कृत गरिने भएको छ। यस्तै गरी तमुहरुको परम्परागत खेल छेलोका विजेतालाई मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले आफ्नो बुबा टेकसाई गुरुङ स्मृतिमा प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार रुपैयाले पुरस्कृत गर्नुहुनेछ।

तमुहरुको परम्परागत खेल छेलोको संरक्षण र विकासका लागि तमु धिं नेपालले सञ्चालन गरिदै आएको छेलो प्रतियोगिता सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा शुरु भए पश्चात सामुहिक ल्होछारमा युवा आकर्षण कार्यक्रम बन्दै आएको छ।

कमेन्टहरु
Loading...