को हुन् कृष्ण थापा

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्डमा लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने भएका छन् ।

कृष्ण थापा
कृष्ण थापा

जुरी कमिटीको सिफारिस र मंचको कार्यसमिति बैठकले पारित गरे अनुसार लाइफटाइम एचिभमेन्ट अवार्डबाट थापालाई सम्मान गर्न लागिएको हो ।

को हुन् कृष्ण थापा
राष्ट्रिय टिमका पूर्व फुटवल खेलाडी तथा प्रशिक्षक कृष्ण थापाको जन्म २०१३ सालमा कास्कीको तत्कालिन हेमजा गाविस र हालको पोखरा–२७ हेमजामा भएको हो । बुबा स्व. लालबहादुर थापा र आमा स्व. भिमकुमारी थापाको कोखबाट जन्मनु भएका थापाले शिक्षा पनि स्थानिय विद्यालयबाटै प्राप्त गर्नुभयो । उहाँले २०३१ सालमा गौरी शंकर उच्च मावि हेमजाबाटै प्रवेशिका परिक्षा उत्तिर्ण गर्नुभएको हो ।

विज्ञानका विद्यार्थी थापाले २०३४ मा ठिमी क्याम्पसबाट आइ.एस.सी. र त्यसपछि कृषि अध्ययन गर्नुभएको थियो । सानैदेखी फुटवलमा रुची राख्ने थापाको फुटवलप्रतिको चाहना नेपाली सेनामा भर्ति भएपछि मात्रै साकार भयो । उहाँले २०३१ सालमा नेपाली सेनामा भर्ना हुनु भएको थियो । थापाले रानी पोखरी कर्नर टिम (आरसिटी)बाट व्यवसायी फुटवल यात्राको थालनी गर्नुभएको थियो । आरसिटीको २०३२ सालमा उहाँले पहिलो ठूलो प्रतियोगिता सहीद स्मारक लिग फुटवल प्रतियोगिता खेल्नुभएको थियो ।

थापाले २०३३ सालमा राष्ट्रिय टिममा डेब्यू गर्नुभएको थियो । नेपालको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै उहाँले २०३३ सालमै रुख्ड कप दिल्ली, २०३४ सालमा रुससँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता उसैको देशमा, २०३६ मा ‘आगा खाँ गोल्डकप’ खेल्नुभएको थियो ।

२०३७ सालमा १९ वर्ष मूनिको एसियन युथ फुटवलको कप्तान (बंगलादेश), २०३८ मा १९ वर्ष मूनिकै एसियन युथ फुटवलमा कप्तान (काठमाडौं), चीनसँग मैत्रीपूर्ण खेल, १९७७ सालमा भारतको कलकत्तामा भएको तेश्रो साफ गेममा रजत पदक जित्दा (सदस्य), २०३९ मा थाइल्याण्डमा भएको किङस कप, २०३९ सालमै पाकिस्तानमा भएको काइदेआजम गोल्डकपमा पनि सहभागि हुनुभएको थियो । त्यस्तै, भारतमा भएको एसियन गेम्स, भारतको पटनामा भएको सञ्जया गान्धि गोल्डकपको उपाधि जित्दा (सदस्य), दार्जिलिङमा २०३९ सालमा भएको गोर्खा कपमा सहभागि, १९८४ सालमा काठमाडौंमा भएको प्रथम साफ गेमको स्वर्ण पदक जित्दाको सदस्य, १९८४ मै साउदीअरबमा एसियन कप खेल्दा सदस्य, १९८५ मा मलेसिया र कोरियामा भएको विश्वकप क्वालिफाइङ खेल्दा सदस्य, १९८७ मा जापान, चीन र थाइल्याण्डमा ओलम्पिक क्वालिफाइङ खेल्दा सदस्यका रुपमा खेल्नुभएको थियो ।

थापाले १९८६ मा डिप्लोमा इन स्पोर्टस् पटियाला पञ्जाबबाट फुटवल कोचको प्रशिक्षक प्रशिक्षण तालिम लिनुभएको थियो । उहाँले १९९० मा जर्मनीबाट ए लाईसेन्स कोर्ष, १९९० मा काठमाडौंमा भएको फिफा कोकाकोला सेमिनारमा सहभागि, १९९४ मा मलेसियामा भएको एसियन स्कुल सेमिनारमा सहभागि, सिंगापुरबाट अपग्रेडिङ्ग कोर्ष समेत लिनुभएको छ ।

१९८८ मा थाइल्याण्डमा भएको १६ वर्ष मूनिको प्रतियोगिता हुँदा हेड कोच, भारतको मद्रासमा १९९५ मा भएको साफ गेम्समा कोच, १९९६ मा इरानमा भएको एसियन कपको कोच, २००१ मा कोरिया र ओमनमा भएको एसियन कप क्वालिफाइङमा कोच, २००२ मा काठमाडौंमा भएको ओलम्पिक छनौट हुँदा हेडकोच, २००४ मा पाकिस्तानमा भएको साफ गेम्समा हेडकोच, २००९ मा बंगलादेशमा भएको साफ गेममा सहभागि हुँदा हेड कोच, २०१२ मा भारतको दिल्लीमा भएको नेहरु कपमा सहभागि हुँदा हेडकोच, २०१२ मा काठमाडौंमा २२ वर्ष मूनिको फिफा कप हुँदा हेडकोच, २०१४ मा काठमाडौंमा नै साफ गेम हुँदा टेक्निकल डाइरेक्टर हुनुभएको थियो ।

थापाले २०६९ सालमा ६ महिना नेपालकै चर्चित मनाङमस्र्याङ्दी क्लवमा कोच गर्नुभयो । सो क्लवमा रहँदा उहाँले मनाङलाई लिगमा दोश्रो तथा सफल कप र आहा ! रारा गोल्डकपको उपाधि दिलाउनुभएको थियो । त्यसयता उहाँले सशस्त्र प्रहरी वल एपिएफ क्लवमा कोचको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

थापा नेपालका प्रथम व्यवसायीक खेलाडी पनि हुनुहुन्छ । उहाँले बंगलादेशको ढाकास्थित वान्डरर्स क्लवबाट १९८१ मा अन्र्तराष्ट्रिय व्यवसायीक खेल शुरु गर्नुभएको थियो । १९८२ मा बंगलादेशकै अबहानी क्लव, १९८३ मा ढाका वन्डरर्स क्लवमा पुनः प्रवेश गर्नुभएको थियो ।

त्यसपछि भने उहाँ राष्ट्रिय खेलकुद परिषदमा प्रवेश गर्नुभयो । २०४३ सालमा अधिकृत तृतीय श्रेणीबाट राखेपमा उहाँको जागिरे जीवन शुरु गर्नुभएको थियो । २०५४ मा द्वितीय श्रेणी, २०६३ मा प्रथम श्रेणीमा बढुवा हुनुभयो । उहाँले २०७१ साल भदौबाट जागिरे जीवनबाट अवकाश लिनुभएको छ । एन्फामा उहाँले जागिरे जीवनको पछिल्लो २७ महिना टेक्निकल डाइरेक्टर भएर काम गर्नुभएको थियो । पछिल्लो समयमा एन्फामा भएको भ्रष्टाचार काण्डमा असन्तुष्टी जनाउँदै उहाँले राजिनामा दिनुभएको र हाल उहाँ पोखरा–२७ हेमजामा आफ्नै निवासमा रिटायर्ड लाइफ बिताउँदै आउनुभएको छ । उहाँ सहारा क्लवबाट सम्मानित भइसक्नुभएको छ भने २०७० सालमा शरदचन्द्र शाह पुरस्कारबाट पनि पुरस्कृत हुनुभएको छ ।

कमेन्टहरु
Loading...