कृष्णदासजी भुसमाधीबाट आज बाहिर आउने, समाधी स्थलमा भक्तजनको घुइचो

पोखरा, ३ बैशाख /विना अक्सिजन भु समाधिमा बस्नुभएका सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराजको आज समाधी पुरा हुँदैछ । तिथिले ९ दिन र दिन ८ दिनसम्म समाधीमा लिन हुनु भएको गुरु आज बिहान ९ बजेर ३५ मिनेट जाँदा समाधीबाट बाहिर आउनु क्रम शुरु हुनेछ । समाधी स्थलमा विहानबाट नै भक्तजनको घुइचो सुरु भएको छ ।

कृष्णदासजीलाई हेर्न बिहानबाट नै ठुलो संस्थामा भक्तजन आएको आयोजकले जानकारी दिएका छन् । समाधी बस्नु अगाडि गत चैत्र २६ गते साँझा ६ः३० बजे गुरु सिद्धबाबाले भन्नु भएको थियो, “बैशाख ३ गते बिहान १०ः१५ बजे भित्र निकालि सक्नु पर्नेछ, अन्यथा मलाई जे पनि हुन सक्छ ।” यस अगाडि भूमि समाधिमा बस्नु अघि पत्रकारसँग कुरा गर्दै गुरु स्रिद्धबाबाले राष्ट्र र मानवकल्याणका लागि आफू यसरी भूमि समाधिमा बसेको बताउनु भएको थियो । समाधिको लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस तयार पारिएको थियो ।

जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको छ भने बाकसलाई ४ वटा साँचो लगाइएको छ । त्यो बाक्साबाट माटो हटाएर चापी काट्दा झण्डै ४० मिनेट लाग्ने छ । बासकको माथिल्लो भागमा बालुवा माटोले पुरिएको छ । त्यसमाथि जमरा लगाइएको छ । वहाँ समाधिन बस्नुभएको स्थानमा पुग्न पनि ३ कोठाको चाबी खोलेर पुग्नुपर्छ । कसैले चाबी खोल्न नसकोस् भन्नका लागि लाहाछाप लगाएर चाबी सुरक्षित राखिएको छ । अहिले प्रहरीले २४ सैं घण्टा सुरक्षा दिएको छ ।

‘भित्र पसेर हेर, माथि उठेर सोच’ भन्ने दिव्य आह्वानका साथ राष्ट्रको सम्पन्नताका लागि हरित क्रान्तिका प्रणेता एवं अभियन्ता महायोगी सिद्धबाबाले लिनुभएको भूमि समाधिले यसको सिद्ध भइसकेको दावी आयोजक समितिका अध्यक्ष मदन खनालले गर्नु भयो । बैशाख ३ मा गुरुको समाधि अवस्थाबाट जागतिक हुँदाको क्षणमा दिव्य दृष्टि प्रसाद प्राप्त गरी जीवन सार्थक बनाउने अवसर सदुपयोग गर्न आयोजकले सम्पूर्णलाई आग्रह गरेको छ ।

उहाँको आशीर्वाद ग्रहण गर्न विभिन्न संघसंस्थाका प्रतिनिधि, अनुयायीले जीज्ञासा राख्दै आएको आयोजक समितिका सदस्य भोला बरालले जानकारी दिनु भयो । उहाँले थप्नु भयो, “ यस्तो महान कार्यमा सबै पोख्रेलीहरुको उपस्थिति प्राथनिय हुनेछ ।”
समाधी स्थलमा सिताराम भजन मण्डलीले अखण्ड भजन क्रिटन गरिरहेको छ भने कथा वाचन समेत भैरहेको छ । त्यसै गरी सो परिसरमा राम चरित मानस पाठ भैरहेको छ । हिजो मात्र पर्यटन मन्त्री आनन्द मणि पोख्रेल समाधीको अवलोकन गर्नु भएको थियो ।

उहाँ हरेक वर्ष चैते दशै तथा बडा दसैंमा विशेष समाधि साधनामा रहने गर्दैआउनुभएको छ । पहिलो पटक उहाँ २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधि बस्नुभएको थियो । समाधिका लागि मंगलबार वहाँ पोखरा आउनुभएको जगत्गुरु श्री रामानन्दाचार्य सेवापीठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले जानकारी दिनुभयो । गुरुको समाधिमा बस्ने भएपछि अनुयायीहरुको रामघाट क्षेत्रमा ठूलो भिड लागेको छ । गुरुको समाधिसँगै यहाँ हुने रामार्चन यज्ञ तथा विशेष अनुष्ठानमा सम्पूर्णलाई आयोजकले सहभागीका लागि आग्रह गरेको छ ।

पोखरा कार्यक्रमको संयोजन नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा गरेका छन् ।

कमेन्टहरु
Loading...