एमाओवादीको उत्पादन दस्ता जनतासँग पैसा माग्नः ओली

२५ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनतासँग पैसा माग्न एमाओवादीले उत्पादन दस्ताको प्रस्ताव ल्याएको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी नेपालद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेता ओलीले माओवादी एमालेजस्तो कम्युनिस्ट र वामपन्थी नरहेको बरु ‘नाममा वामपन्थी काममा दक्षिणपन्थी’ भएको दाबी गर्नुभयो ।

वर्तमान सरकार ‘कामचलाउ’ भन्दा पनि तल्लो हैसियतमा पुगिसकेको भन्दै उहाँले अब आन्दोलनको बलमा छिट्टै बिदा गरिने बताउनुभयो । उहाँले भन्नुभयो-’यो सरकारका पक्षपोषण गर्नेहरुले यो सरकार टिकेन भनेर बुझे हुन्छ । माओवादीलाई समेटेर सहमतिको नयाँ सरकारबाट निर्वाचन गरी नयाँ संविधान ल्याउने कोसिसमा छौँ ।’

शान्ति प्रक्रियामा आएपछि माओवादीलाई एमाले सरह हैसियत दिन गलत भएको भन्दै उहाँले उसको नेतृत्वमा संविधान बन्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो-’एमाओवादीलाई अन्तरिम संविधानमा एमाले सरहको हैसियत दिइनु र उसलाई सोही हैसियतमा निर्वाचनमा जान दिइनु गलत थियो । मैले निर्वाचनको परिणाम आएलगत्तै यो अनुपयुक्त बनोट आयो, संविधान बन्दैन भनेको थिएँ । अब पनि भ्रममा पर्नु पर्दैन त्यो दलको नेतृत्वमा संविधान आउँदैन । परिवर्तनका उपलब्धिको रक्षा हुँदैन ।’

वर्तमान सरकारमा राणाकालीन प्रेत सवार भएको भन्दै नेता ओलीले काँग्रेस-एमाले विपक्षमा रहेर एमाओवादी सरकारमा हुनु क्षणिक आश्चर्य भएको बताउनु भयो । एक प्रश्नको जवाफमा नेता ओलीले स्वतन्त्र वा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव उपयुक्त नहुने बताउनुभयो । ‘सामान्य अवस्थाको निर्वाचन गराउने सरकारको नेतृत्वका लागि त्यस्ता व्यक्ति खोज्ने चलन छन् तर अहिले मुलुकलाई राजनीतिक विचारले नै नेतृत्व गर्नुपर्ने अवस्था छ’ नेता ओलीले भन्नुभयो-’आन्दोलनको मुद्दा मुलुकको नयाँ संविधानबाट समृद्धि हो, त्यसमा पुग्न नयाँ सरकार अनिवार्य छ । देशरुपी गाडी हाँक्न राजनीतिक ड्राइभर चाहिन्छ । एमाओवादीले गाडीको ब्रेक र चक्का भाँच्न खोजेको छ ।’ cp. onlinekhabar.com

कमेन्टहरु
Loading...