काठमाडौ उपत्यका लोडसेडिङमुक्त हुने

काठमाडौं, २१ कात्तिक/सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी अगाडी बढाएको छ । राजधानी र प्रमुख सहर भएकाले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गर्ने तयारी अगाडी बढाएको सरकारी अधिकारीले बताएका छन्। आजको गोरखापत्रमा खबर छ ।

ऊर्जा मन्त्रालयले लोडसेडिङ कम गर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना निर्माण गरी नेपाल विद्युत् प्राधिकरण लगायत अन्य सरोकारवाला निकायलाई सोहीअनुसार काम गर्न स्पष्ट निर्देशन दिएपछि प्राधिकरणले यस्तो तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार भने, ‘हामीले उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारी गरिरहेका छौँ, त्यसका लागि प्राधिकरणले एउटा अध्ययन समिति निर्माण गरेको छ, समितिले विभिन्न विकल्पमा अध्ययन गरिरहेको छ, अध्ययन प्रतिवेदनमा दिएको उपयुक्त विकल्पको तत्काल कार्यान्वायन गरिनेछ।’

हाल उपत्यकामा रातिको पिक आवरमा ३०० मेगाबाट बिजुलीको माग छ भने आपूर्ति झन्डै २०० मेगावाट। साँझको दुई घन्टाको पिक आवरका लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘राजधानी सहरमा उज्यालो बनाउन साँझको दुई घन्टाका लागि १०० मेगावाटको व्यवस्थापन गर्न प्राधिकरण सक्षम छ, यसका लागि सबै किसिमका कोसिस भइरहेका छन्।’

उपत्यका अन्य स्थानमा लोडसेडिङको समय बढाएर उपत्यकामा घटाउन त थालिएको होइन भन्ने जिज्ञासामा कार्यकारी निर्देशक घिसिङले भने, ‘होइन, अन्य स्थानमा पनि लोडसेडिङको समय घटाउने प्रयास भइरहेको छ, घट्छ । उपत्यकालाई पूर्णरूपमा लोडसेडिङ मुक्त बनाउने योजना हो।’ उपत्यकाको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ त रु कार्यकारी निर्देशक घिसिङले भने,‘पिक आवरमा कुलेखानीलाई मात्र चलायौँ भने पनि उपत्यकाको समस्या सम्बोधन गर्न सकिन्छ र अन्य विकल्पको प्रयोग गर्न सकिन्छ, त्यही विषयमा अध्ययन भइरहेको छ।’

उत्पादन, इन्जिनियरिङ, विद्युत् व्यापार कम्पनी स्थापना गर्ने र काठमाडौँ उपत्यका वितरण कम्पनी, प्रदेशस्तरमा प्रादेशिकस्तर कार्यालय खोल्ने, उत्पादनका लागि सातवटा कम्पनी खोली प्राधिकरण, नागरिक र लगानीकर्ताको संयुक्त आयोजनाका रूपमा करिब २५०० मेगावाट विद्युत् उत्पादन गर्न कार्य अगाडि बढाउने निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।

 

कमेन्टहरु
Loading...