कास्की २ मा बीस उम्मेदवार मैदानमा, गुरुङ र क्षेत्री समुदायको मत बाँडिने

प्रमुख तीन दलको दावी–‘चुनाव हामी जित्छौं’
गंगाधर पराजुली/पोखरा,२१ कात्तिक /संविधानसभाको निर्वाचन आउन १२ दिनमात्र बाँकी रहेको अवस्थामा कास्कीका ४ वटै निर्वाचन क्षेत्रमा प्रमुख तीन राजनीतिक दलकाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । तैपनि आफ्नो पूरानो स्थान जोगाउन भने अघिल्लो निर्वाचनका विजयीलाई धौ–धौ पर्ने देखिन्छ । कास्कीको क्षेत्र नं. २ मा २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये आधाजति उम्मेदवारले आफूले नै चुनाव जित्ने दावी गरिरहेका छन् । उम्मेदवारहरूको जस्तोसुकै दावी रहेपनि प्रमुख तीनदलका बीचमा हुने प्रतिस्पर्धालाई अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पार्ने प्रभावले निर्णायक बनाउने निश्चित छ ।

अघिल्लो निर्वाचनमा एमाओवादीका उम्मेदवार राजकाजी गुरुङ करण त्यस क्षेत्रबाट विजयी बनेको भएपनि यसपटक पूरानै अवस्था दोहोरिने सम्भावना अत्यन्त न्यून छ । गुरुङलाई प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विनियोजित रकममध्ये लाखौं रुपैयाँ भ्रष्टचार गरेको र पार्टीले समेत उक्त रकम चन्दा स्वरुप लिएको स्वीकार गरेको कारण त्यस क्षेत्रका मतदाता सामू एमाओवादीले चुनौति खेप्नु परिरहेको छ । यसपटक एमाओवादीले वखानसिंह गुरुङ आभाष र नेपाली कांग्रेसले शारदा पौडेललाई तथा एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएका छन् । यसका साथै राप्रपाले देवेन्द्र किशोर बाँस्तोला, राष्ट्रिय जनमोर्चाले विष्णु राना, नेपाल परिवार दलले सूर्यप्रसाद बराल, नेकपा मालेले टेकनाथ भण्डारी र अखण्ड नेपाल पार्टीले पदमबहादुर कार्की एवं संघीय समाजवादीले देवीराज गुरुङलाई चुनावी मैदानमा उतारेका छन् ।

उल्लेखित बाहेक अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा आउन खोजेको भएपनि मुख्य प्रतिस्पर्धा एमाओवादीका गुरुङ, कांग्रेसकी पौडेल र एमालेका थापाबीच नै हुनेछ । कास्की क्षेत्र नं. २ विशेष गरी कांग्रेसको प्रभावक्षेत्र मानिन्छ । पोखराको वडा नं. १०, ११, १२ र १३ का साथै वडा नं. ३ लगायत केही गाविसमा कांग्रेंसको प्रभाव राम्रो रहेकोले अघिल्लो निर्वाचनमा समेत कांग्रेसले जित्ने दावी गरेको थियो । तर एमाओवादीले त्यस क्षेत्रका अधिकांश जनजाति, दलित र सुकुम्वासीकोहरूको मत प्राप्त गरी विजयी बनेको थियो ।

यसबाहेक नक्कली मतदाताको संख्या पनि गत निर्वाचनमा धेरै थियो । तर यसपटक मतदाता परिचयपत्र र फोटोसहितको मतदाता नामावलीका कारण नक्कली मतदाता बन्न नपाउने र वास्तविक मतदातालेमात्रै मत दिन पाउने भएपछि अघिल्लो चुनावको परिणाम नआउने विश्वासमा कांग्रेस र एमाले छन् । कांग्रेसका उम्मेदवार शारदा पौडेल अघिल्लो निर्वाचनमा माओवादीसंग प्रतिवाद गर्न कठिन भएको तर यसपटक आफ्ना समर्थक उत्साहित र जागरुक बनेकोमात्र नभई कांंग्रेसको पक्षमा जनलहर बढेकोले आफूले जित्नेमा ढुक्क छिन् । पौडेलको जस्तै दावी एमालेका उम्मेदवार थापाको पनि छ । अहिले एमालेका कार्यकर्ता र सम्पूर्ण शक्ति सक्रियतापूर्वक चुनावमा लागेको र अघिल्लो चुनावमा जस्तो धाँधली हुन नसक्ने भएकोले एमालेको पक्षमा परिणाम आउने निश्चित छ–थापाले भने ।

यता एमाओवादीका उम्मेदवार गुरुङ पनि अघिल्लो निर्वाचनमा माओवादीले जितेको क्षेत्र भएकोले पनि यसपटक आफ्नो विजय सुनिश्चित रहेको दावी गर्छन् । गुरुङले जनताले एमाओवादीको एजेण्डालाई मन पराएको र संविधानसभाको एजेण्डा पनि माओवादीकै भएकोले आप्mनो पक्षमा नतिजा आउने विश्वास व्यक्त गरे । प्रमुख तीन पार्टीका उम्मेदवार मध्ये कांग्रेस उम्मेदवार पौडेल लामो समयदेखि कांग्रेस र महिला संघको राजनीतिका साथै विभिन्न संघसंस्थामा सक्रिय छन् । नेपाल महिला संघको केन्द्रीय सचिव समेत भएर काम गरेकी पौडेल प्रजातान्त्रिक आन्दोलनमा समेत निरन्तर सक्रिय छन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव लडेकी भएपनि एमाओवादीका करणसंग पराजित भएकी थिएन । अघिल्लो चुनावमा दोस्रो स्थान प्राप्त गरेको र प्रभावशाली महिला प्रतिद्वन्दी नभएकोले पनि त्यसक्षेत्रमा मतदाता र महिलाहरूको मन आफूले जितेको पौडेलको दावी छ ।

सोही क्षेत्रका कांग्रेस सभापति माधव बाँस्तोला कांग्रेसको पक्षमा पुनर्जागरण आएको वर्तमान अवस्थता र अघिल्लो पनर्वाचनमा जस्तो पार्टीभित्रबाटै असहयोग हुने अवस्था नरहेकोले पनि कांग्रेस विजय हुने दावी गर्छन् । यता, एमाले उम्मेदवार थापा पोखरा उपमहानगरपालिकाको पूर्व नगर प्रमुख भएकोले आफूले नगरको विकास निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउँछन् । ‘म नगर प्रमुखको रुपमा मात्र नभई विभिन्न संघसंस्थामा समेत संलग्न रहेको र पार्टीमा पनि लामो समय काम गरेकोले धेरै मतदाताको समर्थन म प्रति नै छ’–थापाको भनाई छ ।

यस्तै एमाओवादीका उम्मेदवार गुरुङ पार्टीको जिल्ला सेक्रेटरी समेत भएर काम गरेका नेता हुन् । उनी एमाओवादीभित्र पनि केही नरम र इमान्दार मानिन्छन् । पर्वत जिल्लाबाट पोखरा आइ राजनीतिमा क्रियाशील रहेका गुरुङलाई यस क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले टुरिष्ट उम्मेदवारको आरोप समेत लगाएका छन् । कांग्रेस र एमालेको तुलनामा घरदैलो र चुनावीसभामा समेत एमाओवादीमा मतदाताको सहभागिता न्यून देखिएको बारे जिज्ञासा राख्दा उनले राजनीतिमा देखिएको वितृष्णा र कृषकले खेती थन्क्याउने सिजन परेकोले त्यस्तो हुन सक्ने बताए ।
विश्लेषकहरूका अनुसार अघिल्लो निर्वाचनमा एमाओवादीले जनजाति, दलित र सुकुम्वासीको पर्याप्त मत तान्न सकेको भएपनि यसपटक त्यो सम्भावना देखिदैन । जनजातिका केही मत संघीय समाजवादी पार्टीका उम्मेदवार देवीराज गुरुङले तान्न सक्ने भएकोले माओवादीको मत घट्ने निश्चित छ । यसका साथै दलित र सुकुम्वासीहरू समेत अहिले पूर्णरुपमा माओवादीको नियन्त्रणमा छैनन् ।

यसको फाइदा कांग्रेस र एमालेलाई पुग्ने देखिन्छ । कांग्रेसका क्षेत्रीय सभापति बाँस्तोला जनजातिको पुरानो प्रभाव कांग्रेसमै रहेकोले यसपटक उनाीहरूको मत कांग्रेसले नै प्राप्त गर्ने दावी गर्छन् । यसका साथै त्यस क्षेत्रमा करिब ५२ प्रतिशत महिलाहरू रहेको र अन्य पार्टीले महिला उम्मेदवार नबनाएकोले अधिकांश महिलाको समर्थन पनि कांग्रेस उम्मेदवार पौडेललाई नै रहेको उनको बुझाइ छ । यस अर्थमा कांग्रेसको पल्ला भारी हुने देखिन्छ तर एमालेका थापा त्यो मान्न तयार छैनन् । उनी भन्दछन्–‘मेरो घर भएको वडामा मात्र करिब ५ हजार मतदाता छन् र छिमेकी गाविसमा पनि मतदाता धेरै छन् । त्यसैले त्यसक्षेत्रको बढी मत मलाई नै आउँछ ।’ उनले आफू जातीय र संस्थागत हिसावले सबैसंग सम्पर्कमा रहेकोले अन्य पार्टीमा आस्था राख्नेहरूले समेत सहयोग गर्ने दावी गरे ।

थापाको भनाईलाई प्रतिवाद गर्दै कांग्रेस नेतृ पौडेलले एमालेका थापाको वडाबाटै अखण्ड नेपाल पार्टीले पदमबहादुर कार्कीलाई उम्मेदवार बनाएको र दुवै एउटै जातीका परेकोले पनि थापाको मत घट्ने दावी गर्छिन । यसका साथै नगर प्रमुख रहँदा नगरवासीप्रति गरेको व्यवहारको मूल्याङ्कन गर्दा एमालेलाई र यसअघि निर्वाचित एमाओवादीका नेता करणले गरेको आर्थिक अनियमितताले एमाले र माओवादीको शाख गिरेको उनको भनाइ छ । यसैबीच संघीय समाजवादीका देवराज गुरुङले आफू २५÷३० वर्षसम्म जनजातिको क्षेत्रमा विशेष गरी तमु समुदायमा सक्रिय रहेको र अन्य सामाजिक तथा व्यवसायिक संस्थामा समेत संलग्न रहेकोले आफ्नो पक्षमा मतदाताको समर्थन देखिएको बताए । लामो समय तमुधिं नेपालको महासचिव रहेर काम गरेका गुरुङले आफ्नो उम्मेदवारीले माओवादीलाई बढी असर पर्ने सम्भावना व्यक्त गर्दै विभिन्न तमु समाजले यसपटक आफ्नो गुन तिर्ने विश्वास व्यक्त गरे ।

यस्तै अखण्ड नेपालका उम्मेदवार पदमबहादुर कार्कीले आफ्नो पार्टीले सबै जातजाति र भाषाभाषीलाई अटाउने किसिमले सह–अस्तित्व र समाजवादको नीति ल्याएकोले सबैको समर्थन मिल्ने दावी गरे । हामी जातीय संघीयताको विरोधी र हिन्दू धर्म सापेक्ष मुलुककोृ पक्षमा रहेकोले धेरैको समर्थन मिल्छ उनको भनाइ छ । उनलाइ पनि पोखरा बाहिरको मान्छे भन्ने आरोप लागिरहेको छ तर उनले आफ्नो कर्मभूमि पोखरा भएकोले बाहिरको भन्न नमिल्ने दावी गरे । पार्टीको जिल्ला सेक्रेटरी समेत भएर काम गरेका नेता हुन् । उनी एमाओवादीभित्र पनि केही नरम र इमान्दार मानिन्छन् । पर्वत जिल्लाबाट पोखरा आइ राजनीतिमा क्रियाशील रहेका गुरुत्यस क्षेत्रमा जातीय हिसावले हेर्दा ब्राम्हण २७ प्रतिशत, गुरुङ २४, क्षेत्री १९, दलित १०, नेवार ८ र मगर ६ प्रतिशत रहेका छन् भने बाँकी अन्य जातजातिका रहेका छन् ।

यसपटक गुरुङ समुदायबाट ३ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन् । जसमा एमाओवादीका बखानसिंह गुरुङ, संघीय समाजवादीका देवीराज र नेपाल कम्युनिष्ट पार्टी सूर्यबहादुर गुरुङ छन् । उनीहरूबीच गुरुङ र जनजातिहरूको मत तान्न होड चल्ने भएकोले पनि गुरुङको मत विभाजन हुने देखिन्छ । क्षेत्री समुदायबाट एमालेका कृष्ण थापा र अखण्ड नेपालका पदमबहादुर कार्कीका कारण त्यस समुदायको मत पनि विभाजन हुने भएको छ ।

कास्की क्षेत्र नं. २ मा सद्भावना पाटीृका फजुलद्दिन मियाँ, राष्ट्रिय एकता पार्टीका रेवती रमण आचार्य, जनजागरण पार्टीका दिलमान धमाल, नेपाल मजदूर सिान पार्टीका निरज लाभाजू, राप्रपा नेपालका जयलाल पुन, तराई मधेस हिमाल पहाड एकता पार्टीका मीना घिसिङ, नेकपा संयुृक्तकी विष्णुमाया सुवेदी, संघीय गणतान्त्रिक समाजवादीका बिमला बास्तोला, मधेशी जनअधिकार फोरम लोक तान्त्रिकका प्रज्वल रञ्जित र स्वतन्त्र प्रेमबहादु शाही रहेका छन् । अर्मला, काहुँ, भलाम र लामाचौर गाविसका साथै पोखरा उपमहानगर पालिकाको वडा नं. १, ३, १०, ११, १२, १३, १४, १५, १६ र १८ मा गरी ४८ हजार ६ सय २५ मतदाता र ७१ मतदान केन्द्र त्यस क्षेत्रमा रहेका छन् । यसअघिको निर्वाचनमा त्यसक्षेत्रबाट ४१ हजार तीनसय २४ मत खसेकोमा एमाओवादीले १४, ८३२, कांग्रेसले १०,७४३, एमालेले १०,६ ३७ मत पाप्त गरेको थियो ।fb.

कमेन्टहरु
Loading...