आदर्श जीवन जिउनका लागि आनन्दमार्ग आवश्यक

पोखरा, २२ साउन/पोखरासँगै जोडिएको भलाम स्थित ऐतिहासिक तपोभूमि प्रसिद्ध धार्मिक पर्यटकीय स्थल श्री हरिहर गुफा सन्यास आश्रममा आनन्दमार्ग प्रचारक संघ नेपालले योग साधना शिविरको आयोजना गरेको छ । चार दिनसम्म चलेको संगीतमय योग साधना शिविरमा नेपाल र भारतका एकसयजना सर्जक तथा आचार्यहरुको सहभागिता रहेको थियो ।
उक्त योग साधना शिविरका प्रमुख सहजकर्ता आचार्य ज्योति प्रकाशानन्द अवधुतका अनुसार शान्ति, सुखी र समृद्ध जीवन यापनको मार्ग कसरी पहिल्याउन सकिन्छ भन्ने बारेमा गहन चिन्तन मनन गर्ने मुलभूत उद्देश्यले शिविरको आयोजना गरिएको हो ।
आदर्श जीवन र सुख शान्तिका लागि मानवजगत भौतारिइरहेको आजको दुनियामा प्रकाण्ड विद्वान आनन्दमुर्तिद्वारा प्रतिपादित दर्शनको अबलम्बनले त्यो प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो । “आनन्द मार्गमा आदर्श जीवन जीउने कलाका साथै इश्वर प्राप्त गर्ने सरल मार्ग छ” आचार्य ज्योतिले भन्नुभयो । आचार्यद्वय बोधज्ञानानन्द अवधुत र ओमकारेश्वरानन्द अवधुतका अनुसार आनन्दमार्गको दर्शनले सम्पूर्ण मानव जातिलाई एकसुत्रमा बाँध्नुका साथै मानव कल्याण र मानव धर्मको परिकल्पनाले सार्थकता प्राप्त गर्नेछ ।
आजभन्दा झण्डै २ सय वर्ष अगाडि सिद्धयोगी अमरगिरी बाबाले साधना अभ्यास गरी स्थापना गर्नुभएको आश्रममा आयोजित साधना शिविरबाट प्रभावित भई बामपन्थी बुद्धिजीवी सहप्राध्यापक पवित्रमणि पौडेल एवं आश्रमका उपाध्यक्ष त्रिलोचन पौडेल तथा आश्रमका पूजारी लगायत १५ जनाले आनन्द मार्गको दिक्षा लिएका थिए ।
आनन्दमार्ग प्रचारक संघ कास्कीका अध्यक्ष विष्णुप्रसाद बरालका अनुसार चारदिनसम्म चलेको शिविरबाट स्थानीय बासिन्दा निकै प्रभावित भई आनन्दमार्गका बारेमा चासो राख्नुका साथै यसलाई गहन अध्ययन गर्न तथा जान्न बुझ्न खोजेका थिए ।

कमेन्टहरु
Loading...