भारतीय दूतावासमा ३३ दलले ज्ञापनपत्र बुझाए

१६ वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले सोमबार भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्नुका साथै बिराटनगरमा खोलिएको भारतीय कार्यालय हटाउन ज्ञापनपत्र बुझाएको छ ।

अपरान्ह २ बजे लैनचौरबाट जुलुससहित ३३ दलका नेता कार्यकर्ता भारतीय दूताबास अगाडि पुगेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीवीच धकेला-धकेलसमेत भएको थियो । तर, प्रहरीले सामान्य अवरोध गर्न खोजे पनि अन्ततः दूताबासका कर्मचारीले १ पन्ने ज्ञापनपत्र बुझेका थिए ।

‘बिराटनगरमा अवैधानिक एवं अनधिकृतरुपमा खोलिएको भारतीय कार्यालय हटाउनका लागि हामीले लैनचौरबाट विरोध जुलुससहित दूताबास अगाडि प्रदर्शन गर्ने तथा ज्ञापनपत्र बुझाएका हौं ।’-वैद्यको मोर्चामा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।

पाँचवर्षदेखि भारतले बिराटनगरमा खोलेको कार्यालय अवैध भएको भन्दै ३३ दलले त्यसलाई हटाउनुपर्ने माग दूतावाससँग राखेका छन् । सो कार्यालय हटाउन नेपाल सरकारले भारतीय दूतावासलाई पत्राचार गर्दासमेत अहिलेसम्म भारतले हटाएको छैन । सो भारतीय कार्यालय बिराटनगरबाट हटाउनुपर्ने माग जायज रहेको धारणा पूर्वाञ्चलका सरकारी अधिकारीहरुले समेत व्यक्त गर्दै आएका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...