‘पोखरा होली म्यूजिक फेष्टिवल’लाई विदेशबाट पनि सहयोग

फाइल तस्बिर

पोखरा, १ चैत/फागुपुर्णिमाको अवसरमा चैत ६ गते पोखरामा हुने ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ लाई विदेशबाट पनि सहयोग प्राप्त भएको छ । पोखरेली सांगीतिक कलाकार संघको आयोजनामा कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ आयोजित ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ का लागि विदेशबाट पनि आर्थिक सहयोग आएको हो ।

कार्यक्रमका लागि युके, अमेरिका, हङकङ, जापान, कोरिया, दुवईलगायतका देशहरुबाट आर्थिक सहयोग आएको पोखरेली सांगीतिक कलाकार संघका अध्यक्ष सुनिल थापाले जानकारी दिए । उनले सहयोग आउने क्रम जारी रहेको पनि बताए ।

कफी बियाँको टाइटल स्पोन्सर तथा हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतीमा हुने कार्यक्रममा मुग्लान रेष्टुरेण्ट सहयोगी संस्थाको रुपमा रहेको छ । कार्यक्रमलाई प्रदेश सांसद राजिव गुरुङ, युके निवासी समाजसेवी ईन्द्र गुरुङलगायतले पनि सहयोग गरेको उनले बताए ।

कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको प्रचार संयोजक बिनोद बानियाले बताए । उनले भने,‘कार्यक्रमको तयारी तिव्र रुपमा भइरहेको छ, प्रायोजक खोज्ने काम अब लगभग सकियो, अब स्टेज निर्माणलगायतका काम मात्र बाँकी छ ।’

यहि चैत ६ गते लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा हुने कार्यक्रम पूर्वाह्न ११ बजेदेखी शुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म हुने अध्यक्ष थापाले बताए । पूर्वाह्न ११ बजेदेखी दिउँसो २ बजेसम्म डिजे सेसन रहने र सो समयमा पोखरेली चर्चित डिजेहरुले डिजइङ गर्ने अध्यक्ष थापाले जानकारी दिए । दिउँसो २ बजेदेखी ३ः३० बजेसम्म सोलो आर्टिष्टहरुले प्रस्तुती राख्ने उनले बताए ।

उनका अनुसार सोलो आर्टिष्टमा बिनोद बानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारलगायतले प्रस्तुती राख्नेछन् । त्यसपछिको समयमा पोखरेली चर्चित व्याण्डहरु कन्दरा व्याण्ड, डि–मर्चा व्याण्ड, लेकाली र देउराली व्याण्डले प्रस्तुती राख्ने उनले जानकारी दिए ।

राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावमा उपचारबाट बञ्चित हुने अवस्था आएकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले कला संगीतको विकासमा समेत कार्यक्रमले सघाउने बताए ।

कमेन्टहरु
Loading...