पहाडी जिल्लामा आज होली मनाइँदै

काठमाडौ, चैत्र १३ – रङैरङको पर्व होली मंगलबार मनाइँदै छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा ठड्याइएको तीन छत्रे चीर तानेर टुँडिखेलमा पुर्‍याई बुधबार बिहान ५.२३ को साइतमा दाह गरेपछि साताव्यापी पर्व समाप्त हुन्छ । तराई भेकतिर भने पूणिर्माको भोलिपल्टमात्र खेल्ने चलन छ ।

चीर ढाल्ने र दाह गर्नुपर्ने फाल्गुण शुक्ल पूणिर्मा मंगलबार हो तर त्यस रात भद्रा परेकाले भद्रामा चीर दाह गर्न नहुने भएकाले बुधबार बिहान साइत निस्केको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सहायक सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । उनका अनुसार सूर्योदय नभएसम्म बुधबारको दिन भइसके पनि अघिल्लोकै दिन मंगलबारकै गणना गर्नुपर्ने ज्योतिषशास्त्रको नियम भएकाले चीर दाह गर्ने साइत बुधबार बिहान परेको उनले बताए ।

रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको उक्त चीर फागुन ७ गते बिहान ७.४७ को शुभसाइतमा ठड्याइएको थियो । धार्मिक ग्रन्थअनुसार दानवी राजा हिरण्यकश्यपूले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई बहिनी होलिकाको काखमा बसाली आगो लगाई मार्न गरेको प्रयास असफल भएको दिनमा यो पर्व मनाउने गरेको उल्लेख छ । ग्रन्थअनुसार आगोले नछुने वरदान पाएकी होलिकाले प्रह्लादलाई मार्न आफ्नो काखमा राखी आगोमा होमिएकी थिइन् तर प्रह्लाद विष्णु भक्त भएकाले आगोले छोएन, उल्टो होलिका भष्म भएकी थिइन् ।

होलिका रूपी पापवृत्ति जलेर भष्म भएको स्मरणमा  प्रत्येक वर्ष फागुन पूणिर्मामा होलिका रूपी चीरलाई दाह गरेको जनविश्वास छ । नेपालमा प्राचीनकालमा होली फागुपूणिर्मा मात्र नभई अरू बखतमा पनि खेल्ने गरेको पाइएको छ । ईस्वीको चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा देशमा ठूलो अशान्ति भएको कारणले पूणिर्माको दिन होली उत्सव मनाएपछि देशमा शान्ति स्थापना भएको उल्लेख छ । cp. onlinekhabr.com

कमेन्टहरु
Loading...