एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण खर्च ४५ लाख

पोखरा, २८ जेठ/‘सगरमाथा आरोहण सकियो । अब अरु काम बाँकी छ ।’ एचआईभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको आरोहण पछि पोखरामा सोमबार आयोजित कार्यक्रममा भने–‘ अबको काम एचआईभी संक्रमित बालबालिकाको लालनपालन पोषण, शिक्षा दिक्षाको लागि गर्नुपर्ने छ ।’

उनको अभियानमा लागेको खर्चको आयव्यय सार्वजनिक गर्ने क्रममा उनले सबैलाई आभार व्यक्त गर्दै अबको लक्ष्य पुरा गर्न फेरी सहयोगी मनको खाँचो रहेको औंल्याए । श्रेष्ठले दोस्रो पटकको प्रयासमा आरोहण गरी फर्किएका हुन् । पहिलो प्रयासमा भने उनी आधार शिविरमा हुदाँ आएको भूकम्पमा परी घाईते हुन पुगे ।

उद्दार टोलीले उद्दार गर्दै पोखरा ल्यायो । ५६ वर्षिय श्रेष्ठले दोस्रो प्रयासमा जेठ ८ गते विहान ८ बजे सगरमाथाको सफल आरोहण गर्दै आफना सहयोगीहरुको झण्डा सगरमाथाको चुचुरोमा फहर्याए । ‘सगरमाथा चढ्छु भन्दा पागल भएछ सम्म भन्न भ्याए ।’

उनले भने–‘ आरोहण सकेर आएपछि नयाँ सन्देश आम सर्वसाधारण समक्ष पुगेको छ ।’ क्याम्पियनका संयोजक पदमराज पहारीले श्रेष्ठ आरोहण गर्न जानु अघि विभिन्न व्यक्तिविशेषले उठाएको प्रश्नको उत्तर आरोहण सकेर फर्किएपछि आफैं पुरा भएको स्पष्ट पारे ।

उनको सगरमाथा उकाल्ने योजनालाई ‘स्टेप अप क्याम्पियन अभियान’ले पुरा गर्ने अठोट लियो । आर्थिक संकलनको अभियानमा जुट्यो । अभियान सफल भएको २० दिनपछि सोमबार क्याम्पियनको दोस्रो चरणमा गरिएको खर्चबारेको हिसाबकिताब सार्वजनिक गरियो ।

आयव्यय सार्वजनिक गरिदाँ संस्थाले ऋणको बोझ बोकेको छ । उनलाई आरोहणमा सहयोग पुर्याउन दोस्रो चरणले १० लाख ऋणको भार बोकेको छ । उठाउनुपर्ने केही रकम पनि छ । तर उठाएको रकमले पनि उनको अभियाहनमा लागेको ऋण तिर्न भने पुग्दैन् ।

क्याम्पियनकी कोषाध्यक्ष गीता पौडेलका अनुसार सगरमाथा आरोहणको क्रममा १० लाख रुपैयाँ ऋण लिइएको छ । ‘विभिन्न संघसंस्थालाई तिर्नुपर्ने रकम १५ लाख रुपैयाँ तिर्नुपर्ने छ ।’ उनले भनिन–‘उठाउन बाँकी २ लाख ३८ हजार छ । बैंकमा मौज्दात १ लाख५४ हजार रुपैयाँ छ ।’ श्रेष्ठको सगरमाथा आरोहणमा ४५ लाख ४४ हजार ५१ रुपैयाँ खर्च भएको छ । सबैभन्दा बढी आरोहण शुल्क मात्रै २५ लाख रुपैयाँ खर्च भएको स्टेप अप क्याम्पियनले जनाएको छ ।

आरोहण उद्दार खर्चमा ५ लाख २५ हजार, आरोहण समान तथा उपकरण खर्च वापत ४ लाख ५ हजार, आरोहण सम्पन्न शेर्पा बोनस २ लाख ५० हजार खर्च भएको छ । आरोहणको लागि विभिन्न व्यक्ति विशेषबाट २८ लाख ८८ हजार ८५५ रुपैयाँ संकलन गरिएको छ । साँस्कृतिक कार्यक्रमबाट ६ लाख ४७ हजार र ऋण सापटी १० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

२६ वर्ष अघि शरीरमा एचआईभीको संक्रमण देखिएको थियो । उनै संक्रमित श्रेष्ठले नयाँ किर्तिमान कायम समेत गरेर फर्किएपछि चर्चासँगै नयाँ सन्देश आम जनमानसमा पुगेको छ । ड्रिमर्स डेष्टिनेशन टे«क्स एण्ड एक्सपीडिसन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा दाकिपा शेर्पाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन् ।

श्रेष्ठ पुर्व खेलाडी हुन् । तत्कालिन समयमा फ्रेण्ड्स क्लबलाई ए डिभिजनमा पुर्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । श्रेष्ठले रानीपोखरी कर्नर टिम(एनआरटी) र त्रिभुवन आर्मी क्लबबाट समेत खेलेका थिए ।

कमेन्टहरु
Loading...