डिपिएलको दोस्रो संस्करण माघ ५ गतेदेखि हुने

धनगढी,  २२असोज/धनगढी प्रिमियर लिग टि–ट्वेन्टी क्रिकेट (डिपिएल)को दोस्रो संस्करण माघ ५ गतेदेखि सुरु हुने भएको   छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । अक्सन मार्फत खेलाडी छानिने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्ने नियम लगाइएको छ । प्रतियोगितामा खेल्ने टिम घोषणा र खेलाडीहरुको अक्सन मंसिरमा गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा विभिन्न सहरका ६ टिमले प्रतिस्पर्धा गरेकामा दोस्रो संस्करणमा दुई टिम थप्न सकिने जनाइएको छ ।धनगढी साविक विजेता हो ।यसपटकको विजेताले २५ लाख तथा उपविजेताले रु १० लाख रुपैयाँ जित्ने छन् । तेस्रो हुनेले ३ लाख तथा चौथोलाई २ लाख दिइने छ ।गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।

प्रतियोगिताको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बी शाहीले जानकारी दिए ।पहिलो संस्करणमा सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेकामा यसपटक भने विजय डिस्टिलरीको रुस्लान मुख्य प्रायोजक रहेको छ । रुस्लानले प्रायोजन बापत ३५ लाख रुपैयाँ आयोजकलाई दिने सहमति भएको छ ।

कमेन्टहरु
Loading...