पोखरामा क्लियर टिभीको सेवा सञ्चालन, सेटअप बक्स निःशुल्क

पोखरा, २० चैत / पोखरामा क्लियर टिभी भित्रिएको छ । पोखरा इन्टरनेट प्रालि गैह्रापाटनले केही समय अगाडिदेखि पोखरा तथा आसपासका क्षेत्रमा क्लियर टिभीको जडान सुरु गरेको हो । पुरै डिजिटल प्रविधिमा क्लियर टिभीको जडान सुरु गरिएको प्रालिका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

हरेक टिभी जडान गर्ने क्रममा एउटा सेटअप बक्स उपहार प्रदान गरिने कोइरालाले बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय टिभी च्यानलहरुको साथमा पोखराका स्थानीय टिभीहरुसमेत हेर्न सकिन्छ,’ उनले भने, ‘पोखरामा सेवा सुरु भएको छोटो समयमा ३ हजार जनाले क्लियर टिभी जडान गरिसकेका छन् ।’

सेवा शुभारम्भको अवसरमा प्रालिले सेटअप बक्सको अफर ल्याएको उनले जानकारी दिए । ‘ग्राहकले २ हजार रुपैयाँ तिरेर ६ महिनासम्म टिभी हेर्न सक्छन्,’ उनले भने । एक वर्षको एकैपटक शुल्क तिर्दा थप २ महिना टिभी हेर्न सकिने कोइरालाले जानकारी दिए । एक वर्षको जडान गर्दा ४ सय रुपैयाँसमेत छुट प्रदान गरिने उनले बताए । सेवा जडानको पहिलो ६ महिना वा एक वर्षपछि मासिक ३ सय, ५ सय र ७ सयका विभिन्न प्याकेजहरु उपलब्ध गराइने उनले बताए ।

क्लियर टिभी जडान गरेपछि २ सय भन्दा बढी टिभी च्यानल आउने प्रालिका प्रवन्धक विजेशशंकर पालिखेले बताए । अहिले भइरहेका ग्राहकले पुरानै संरचनाबाट टिभी जडान गर्न सक्नेछन् । ‘सेटअप बक्समात्रै परिवर्तन गरेर तारहरु पुरानै प्रयोग गर्न सकिन्छ,’ उनले भने ।
६ महिनाका लागि इन्टरनेट जडान गरेमा पनि ६ महिनाकै लागि निःशुल्क टिभी जडान गरिने उनले जानकारी दिए ।

उच्च गुणस्तर, स्तरीय च्यानल, २४सै घन्टा सेवा लगायतका विशेषताले क्लियर टिभीप्रति ग्राहकको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘व्यावसायिक प्रतिष्ठान तथा होटलहरुमा क्लियर टिभी जडानको माग राम्रो छ,’ उनले भने ।

कमेन्टहरु
Loading...