कम्युनिष्टसँग विकासको भिजन छैन–थापा

पोखरा, २७ कात्तिक/नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे । दुई तिहाई बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाई छ ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन् । पोखरामा सोमबार भएका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे । ‘कम्युनिष्टकै कारण देशको आर्थिक अवस्था लथालिङ्ग भएको छ । कम्युनिष्ट गठबन्धनको चर्चाले मात्रै शेयरबजार ध्वस्त भैसक्यो, सरकारै बने के होला ?, थापा भन्छन्–मुलुकको विकास र समृद्धि काँग्रेसको एजेण्डा हो । बुझिबुझि जनताले गल्ती गर्दैनन् ।’

उनले बाह्य लगानी भित्र्याएर पोखरालाई अन्तराष्ट्रिय रुपमै सबैभन्दा विकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । थापा ब्यापार ब्यवसायसँगै राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनकै अगुवाईमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणले मुर्त रुप लिएको थियो ।

कास्की क्षेत्र नम्बर २ को प्रदेश (ख) अन्तर्गत सचीवालय उद्घाटमा उनले आँफुलाई मतदान गर्न मतदातासँग अपिल गरे । ‘जनधनको रक्षाको ज्ञारेण्टी काँग्रेसले लिन्छ । त्यो भारी बोक्ने अवसर मलाई दिनुस्, उनी भन्छन्–राष्ट्रिय निकास र आर्थिक समृद्धीका लागि प्रजातन्त्रबादी काँग्रेसलाई भोट हाल्नुस् ।’

कमेन्टहरु
Loading...