होटल व्यवसायीका दुःखः न खोप, न खोल्ने अनुमति

बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ ।

झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ । पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन् ।

होटल व्यवसायीका अनुसार व्यापार छैन । घरभाडा, कर्मचारीको तलब, पानी र बिजुलीमा हुने खर्च भने नियमित छ । यहाँका ९५ प्रतिशत होटल भाडाको घरबाट सञ्चालित छन् । ऋणधन गरेर व्यवसाय थालेकाहरुलाई ब्याज र किस्ता चलाउनै धौ धौ छ । छिट्टै व्यवसाय लयमा नफर्के कतिपय व्यवसायी पलायन हुनुपर्ने स्थिति छ ।

होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले खोपमा आफूहरुलाई विभेद गरिएको बताए । उनले सेवा क्षेत्रको मुख्य र संवेदनशील व्यवसायलाई सरकारले उपेक्षा गरेको आरोप लगाए । “सार्वजनिक यातायात, बजार, कार्यालय खुलेका छन्, तर होटल खोल्न अनुमति दिइएको छैन”, उनले भने । होटल पिस प्यालेसका सञ्चालकसमेत रहेका राजभण्डारीले रेष्टुराले जस्तो ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा होटलले दिन नसक्ने बताए ।

होटलमा खाना र रात बिताउनका लागि पाहुना आउने भएपनि त्यही बेला होटल बन्द गर्नुपर्ने नियम अमिल्दो भएको व्यवसायी बताउँछन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार जारी निषेधाज्ञामा साँझ ७ बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।

यहीबीच होटल व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई भेटेर व्यवसाय सञ्चालनमा सहजीकरण र खोपको प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीका पीर मर्का सुन्नुभएका प्रजिअ कार्कीले होटल व्यवसाय माथिबाटै प्राथमिकताको सूचिमा नपरेका कारण खोप दिलाउन नसकिएको बताए । उनले केन्द्रको नीति अनुसार तोकेर आएमा अबको चरणमा होटल व्यवसायीलाई खोपको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरे ।

किराना, मासु, फलफूल तथा तरकारी, ग्यास व्यापारीलगायतले खोप पाइसकेका छन् । अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीपछि उमेर समूह र अति संवेदनशील व्यवसायलक्षित गरी अहिले खोप अभियान चलिरहेको छ । होटललाई पनि अति संवेदनशील व्यवसायमा सूचिकृत गरी यथाशीघ्र खोप उपलब्ध नगराए तालाचाबी बुझाएर आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए ।

महासङ्घ र जिल्ला सङ्घले संयुक्त रुपमा प्रजिअसमक्ष बुझाएको ज्ञापनपत्रमा यही साउन १५ गतेभित्र माग पूरा नभए १६ गतेदेखि धर्नालगायत विरोधका कार्यक्रम गरिने उल्लेख छ । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खोप नपाएको व्यवसायीको गुनासो छ । शुरुमा एक सय व्यवसायीलाई मात्र भएपनि खोपको प्रबन्ध गर्न माग गरिएको जिल्ला सङ्घका अध्यक्ष राजभण्डारीले बताए ।

उमेर समूह र प्राथमिकताप्राप्त क्षेत्र÷पेशा बाहेकका व्यक्तिले पनि भनसुनका आधारमा खोप लगाइरहेका बेला होटल व्यवसायी भने अहिलेसम्म खोपबाट बञ्चित छन् । खोपसँगै सहज रुपमा व्यवसाय सञ्चालन र व्यवसाय पुनःउत्थानका लागि सरकारले राहत र सहुलियत दरको कर्जा प्रवाहको योजना ल्याउनपर्ने व्यवसायीको माग छ ।

पर्यटन व्यवसाय उकास्नका लागि गण्डकी प्रदेश सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीहरुले नै लाभ लिन नसकेको महासङ्घका अध्यक्ष चोखालले बताए । “कर्जा दिनका लागि बैङ्कले धितो खोज्यो, हाम्रा व्यवसायीहरु अधिकांश गाउँबाट आएर होटल चलाउनुभएको छ, धितो राख्न सक्ने अवस्था छैन”, उनले भने, “पहिले पनि कर्जा लिएका र ठूला व्यवसायीले मात्र लाभ लिए ।”

कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायतका योजनाबाट सबै व्यवसायी समान रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ । महामारी अझै यस्तै रहिरहे र राहत पनि नपाउने हो भने व्यवसायीहरु होटल बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनले बताए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होटल व्यवसायलाई नियमित सञ्चालनका लागि अनुमति दिनुपर्ने आवाज व्यवसायीबाट उठेको छ । होटल व्यवस्थापनले पनि भौतिक दूरी कायम गर्ने, पाहुना कम राख्ने, स्वास्थ्य सावधानी अपनाउने कुरामा सचेत हुनुपर्नेमा अध्यक्ष चोखालको जोड छ । यहाँ झण्डै दुई सय होटल, रेष्टुरा छन् । बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । साना, ठूला सबै होटलमा गरी करिब रु. ५० करोड लगानी छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ ।

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशले गत वर्ष नै प्रदेशभर सञ्चालित होटलको सङ्ख्या र लगानी विवरणसमेत सङ्कलन गरेको थियो । होटलको स्थिति बुझने र सोही अनुसार राहत कार्यक्रमका लागि पहल गर्न विवरण उठाइएपनि त्यसले कुनै परिणाम दिन सकेन । कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुरा व्यवसाय पुरानै अवस्थामा फर्कन कठिन छ । धेरै जनसङ्ख्यालाई खोपको पहुँचमा पु¥याउन सके स्थिति सहज हुने ठानिएको छ । कोराना मत्थर भएर निषेधाज्ञा पूर्ण रुपमा हटेपछि आन्तरिक पर्यटक घुम्न निस्कने र त्यसबाट होटल व्यवसाय चलायमान हुनेमा व्यवसायी आशावादी छन् ।

कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी होटलमा पूर्वाधार, गुणस्तर र स्वास्थ्य सावधानीका लागि व्यवसायीले पनि लगानी बढाउनुपर्ने अवस्था छ ।
– रामबहादुर थापा

कमेन्टहरु
Loading...