हवाइ उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा जोड

पोखरा । गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायी बीच झापाको भद्रपुरमा अन्तक्रिया सम्पन्न भएको छ ।
बुद्ध एयरले पोखरा देखि झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तब्य पोखरा कार्यक्रम मार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवम् पत्रकारसँग छलफल गरेर पर्यटन प्रवद्र्धनका विषयमा जोड दिएका हुन् ।

पोखरा पर्यटन परिषदको आयोजना, नाटटा गण्डकीको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाइ उडानले पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तब्य र गतिविधिमा जोड दिनुपर्ने बताए । उनले पर्यटन वृहत विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यता लगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले घुम्नै पर्ने शहरको रुपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित शहर बनाउने योजना अनुरुप पर्यटन पुर्वाधारका महानगरले काम गरिहेको जानकारी समेत दिए ।

सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबि) ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनलाई जिविकोपार्जनसँग जोड्ने यस परियोजना ३ वर्ष भित्र सक्ने लक्ष्य छ राखिएको छ , यति नभए पनि पाँच देखि ७ अर्ब सम्मको हुन सक्ने अनुमान गरिएको छ । यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताए ।

भद्रपुर नगरपालिका मेयर गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्रमात्र नभई सबै सरोकारवालाहरुको सहकार्य र समन्वयको आवश्यक औल्याए । उनले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तब्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारिकरण लगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गरे । उनले सुन्दर प्राकृतिक शहर पोखरालाई झापासँग अब १ घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरको रुपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यता औल्याए ।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटि , कनेक्टिभिडी, मार्केटिङ र पुवार्धारको अपरिहार्यतामा जोड दिए । उनले पर्यटन कुनै एक विषयसँग मात्र सम्बन्धित नहुने जनाउँदै विविध क्षेत्रलाई पर्यटनले समेट्ने जनाउँदै दिगो पर्यटनका विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटनबोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिए ।

पोखरा पर्यटन परिषदका कार्यबाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिले पर्यटनलाई चलायमान बनाउने भएकाले एक अर्कोको स्थानको गन्तब्यको पहिचान र प्रवद्र्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताए ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स (नाटटा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा भद्रपुर उडान आन्तरिक पर्यटक मात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताए । उनले पोखर भद्रपुर उडानमा यात्रुले माउण्टेन प्लाइटमा जस्तै विश्वको अग्लो सगरमाथाको अवलोकन गर्दै नेपालको होचो ५८ मिटर रहेको कचनकवलको भुभागको पुगेर भौगोलिक अवस्थितीको अध्ययन र अवलोकन समेत गर्न पाइने सुन्दर पक्षको चर्चा गरे ।

कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाइ, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो ,कचनकवल गाउँपालिका अध्यक्ष कलेन्द्रसिंह राजवंशी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, लगायतले पर्यटनको एकृकित विकासमा जोड दिदै दुई प्रदेशको हवाइ उडानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

वक्ताहरुले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक लगायतका विशेषता युक्त प्रदेश भएकाले यसलाई विभिन्न तरिकाबाट प्रवद्र्धन गर्न सकिनेमा जोड दिए । सहभागि वक्ताहरुले दक्षिण एसियामै उत्कृष्ट मानिएको जैविक विविधताले युक्त जलथल वनक्षेत्र, महाभारत कालीन कथाको प्रसंगमा जोडिएको किच्चक वध, चिया बगानको सुन्दरता, त्यस क्षेत्रमा उत्पादित सामाग्रीलाई पनि कसरी प्रचार प्रसार प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले पर्यटनलाई सबैको पहुँचमा पुर्याउने हवाइ उडानको नियमितता र सडक पुर्वाधारको विकासमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...