हङकङ बजारमा अन्धकार: लाईन कटिदा ४०० व्यवसायी मारमा

पोखरा । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र पोखराले विना जानकारी हङकङ बजारको विद्युत लाइन काट्दा व्यवसायी मारमा परेका छन् । १८ गते प्राधिकरणले लाइन काटेपछि एक हप्तादेखि ४०० जना व्यवसायी समस्यामा परेका हुन् ।

विना जानकारी विद्युतको लाइन काट्दा व्यवसायमा ठुलो आघात परेको व्यवसायी जीवन पौडेलले बताए । अत्याश्वक कुरा भित्र पर्ने बिजुली जग्गा विवादको बहाना देखाउँदै प्रक्रिया पुगेको छैन भन्दै प्राधिकरणले झुलाइरहेको पौडेलले आरोप लगाए ।

‘अत्यावश्यक कुरा पनि जानकारी वेगर काटियो, हाम्रो अधिकार हनन भएको छ, हामी माथि अन्याय भएको छ,’ उनले भने ‘चाडवाडको मुखमा छाक टार्न पनि धौधौ परिरहेको छ, दिउँसै मैनबत्ति र मोबाइलको लाइट बालेर अध्यारोमा व्यापार गरिरहेका छौं ।’

तत्कालै हुनुपर्ने कुरा पनि यत्रो समय बित्दा पनि समस्या समाधान नभएको उनको गुनासो छ । उनी भन्छन्, ‘व्यवसाय आफैं सुस्ताएको छ, यस्तोमा विद्युत नहुँदा थप घाटा व्यहोर्नु प¥यो, हामीलाई भोकभोकै मार्ने षडयन्त्रण गरिएको छ ।’

बजार समिति अध्यक्ष कृष्णकुमारी गुरुङले ठेकेदार कर्मचारीको लापरवाहीले व्यवसायीको आधारभुत अधिकारबाट बञ्चित हुनुपरेको बताइन् । विद्युत पुरानो ठेकेदारको नाममा जडान भएकाले उनीहरुले प्राधिकरणमा लाइन काट्न निवेदन पेश गरेकाले प्राधिकरणले लाइन काटेको उनले जानकारी दिइन् ।

‘प्राधिकरणसँग कुरा गर्दा जग्गाको लालपुर्जा ल्याउन भन्छ, हामीले कहाँबाट जग्गाको लालपुर्जा ल्याउने,’ उनले भनिन्, ‘कि त सम्झौता पत्र ल्याउन भन्छ हामी कुनै पनि हालतमा सम्झौता गर्न तयार छैनौं, हामी ठेकेदार मान्न तयार छैनौं ।’

सधैं समयमै बिजुलीको बिल तिर्ने गरेपनि अहिले समस्यामा हुँदा प्राधिकरणले सहयोग नगरेको गुरुङको भनाइ छ । वडा नम्बर ९ ले सहयोग नगरेको बताउँदै महानगरमा कुरा राख्ने र महानगरबाट पनि सहयोग हुन नसकेमा आन्दोलन गर्ने उनले बताइन् ।

कमेन्टहरु
Loading...