स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय

काठमाडौं । पिसिआरको स्वाब संकलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् ।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिकले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका २ वटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरेका छन् ।

यस्तै काठमाडौंमा संक्रमणको दर बढिरहेकाले संक्रमतिको नजिक आएकाहलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसिआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरेका छन् ।

‘पिसिआर पोजेटिज आइसोलेसनमा गएकासँग सम्पर्कमा रहेका प्राइमरी कन्ट्याक्टले संक्रमितसँग सम्पर्क भएको अन्तिम दिनदेखि गणना गर्दा ५ देखि ७ दिनभित्रमा स्वाब दिन अनुरोध छ ।’ उनले भने, ‘संक्रमितसँग भेटेको तुरुन्तै पिसिआर परीक्षण गरेपछि ‘फल्स नेगेटिभ’ आउँछ । नेगेटिभ आयो भनेर ढुक्क हुने तर संक्रमणमा हुने डर हुन्छ । त्यसैले ५ देखि ७ दिन कुर्नु पर्छ र उक्त समयमा छुट्टै क्वारेन्टिनमा समेत बस्नुपर्छ ।’

काठमाडाँं उपत्यकामा नमूना परीक्षणका लागि १४ वटा अस्तालमा स्वाब संकलन केन्द्र राखिएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्तपाल, निजामती अस्पताल, स्टार अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, सशस्त्र प्रहरीको बलम्बु अस्पताल, ह्याम्स अस्पताल, नेपाल–चीनमैत्री अस्पताललगायतका १४ अस्पतालमा गई स्वाब दिन संक्रमणको जोखिम भएका व्यक्तिलाई आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताएका छन् । रासस

कमेन्टहरु
Loading...