स्वर्ण विजेता कमल कास्यमा सीमित

पोखरा, २० मंसिर/ साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

प्रकाश केसी
प्रकाश केसी

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् । यसअघि उद्घाटनको दिन नेपालले १ स्वर्ण र २ कास्य पदक भित्राइसकेको छ ।

कमेन्टहरु
Loading...