स्याङजा कारागारमा क्षमता भन्दा बढि कैदी

स्याङ्जा । पुस १३ गते/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र स्याङजा जिल्ला प्रतिनिधिले स्याङजा जिल्ला कारागार शाखाको अनुगमन छ । कारागारका बन्दीहरूको समस्या र अवस्था बारे जानकारी लिनको लागि कारागारको अनुगमन गरिएको इन्सेक क्षेत्रीय कार्यालय पोखराका गणेश भण्डारीले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कारागारमा क्षमताभन्दा बढी बन्दीहरू राख्नु परेको कारण समस्या आएको स्वीकार्दै देशकै कारागारमा क्षमता भन्दा बढी बन्दी राख्नु पर्ने बाध्यता भएको बताए । उनले कारागारमा केही भौतिक पूर्वधार मर्मत सम्भार गर्न सकेमा कारागारको क्षमता वृद्धि गर्न सकिने उल्लेख गर्दै आर्थिक अभावले केही गर्न नसकेको बताए । कारागारकी प्रमुख मिना ढकालले कारागारको मूलगेटको निर्माण गर्न सकेमा केही बन्दीलाई राख्ने ठाउँको विकल्प निकाल्न सकिने भन्दै १५ जना बन्दीहरूलाई कोठाको अभावका कारण पालमुनि राख्नुपर्ने बाध्यता रहेको बताईन् ।

जेलका सुरक्षा इन्चार्ज प्रहरी नायव उपरीक्षक रिनबहादुर बैदारले सुरक्षा समस्या नभए पनि आइतबार र विहीबार मात्र बन्दीहरूलाई आफन्तसँग भेटघाटको व्यवस्था गरिएको र बाहिरबाट आउने आफन्तलाई परिस्थिति हेरेर भेटघाटको व्यवस्था मिलाउने गरेको बताए । कारागारमा क्षमताभन्दा बढी बन्दीहरू भएकोले कोठाभन्दा बाहिर पाल टाँगेर रात गुजार्नु परेको ६२ वर्षीय दुर्गाप्रसाद चापागाईले बताए । टिभी, खानेपानी, पानी बोक्ने बाल्टी तथा डस्विन जस्ता सामाग्री नहुँदा पनि जेलमा जीवन कष्टकर भएको उनको गुनासो थियो ।

चौकीदार छविलाल पोखरेलले स्वास्थ्य उपचार गर्न जेल प्रशासनले बाहिर लाने गरेको उल्लेख गर्दै डाक्टरको व्यवस्था नियमित जेलभित्रै गर्नसके बाहिर जानुपर्ने बाध्यताबाट मुक्त हुने बताए । उनले पानीको लागि पानी तान्ने मोटरको व्यवस्था भएमा खोलाबाट पानी तानेर समस्या टार्न सकिने बताए । महिला कारागारकी नाइके राजकुमारी विकले महिला कक्षमा पानीको बाहेक खासै समस्या नभएको बताइन् । अर्की बन्दी शोभा राईले महिलालाई सीपमूलक तालिमको आवश्यकता रहेको बताईन् ।

२५ जना पुरुष र १० जना महिला राख्ने क्षमता रहेको स्याङ्जा जिल्ला कारागारमा कैद तोकिएका ३५ र कैद नताकिएका ३६ जना गरी ७१ पुरुष र कैद तोकिएका ११ जना र कैद नतोकिएका दुई जना गरी १३ जना महिला सहित कूल ८४ बन्दीहरू रहेका छन् ।

कमेन्टहरु
Loading...