सैनिक कल्याणकारी कोष योजनाअन्तर्गतका प्रि-डिप्लोमा कोर्सका विद्यार्थीको बिदाइ

लमजुङ l नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानले एक वर्ष आठ महिना अध्ययन गरेका ४० जना विद्यार्थीलाई बिदाइ गरेको छ । जिल्लाको बेंसीसहर नगरपालिका २ बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि-डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको हो ।

विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापा र गण्डकी प्रदेश सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए । तालिम अवधिभर नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङको प्रथम ब्याचले शतप्रतिशत विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको भन्दै सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले केन्द्रका प्राचार्य श्यामकृष्ण घिमिरेलाई प्रशंसापत्र प्रदान गरेका थिए । तालिममा कृषितर्फका २४ जना र पशुपालनमा १६ जना सहभागी भएको केन्द्रका सहायक प्राचार्य विनोद घिमिरेले बताए ।

उनका अनुसार नेपाली सेना कृषि विज्ञान संस्थानले समयसमयमा छोटो अवधिका तीन महिने, १८ महिने पशुपालन तथा कृषि तालिम सञ्चालन गर्दै आएको छ । उक्त केन्द्र ३८६ रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि क्षेत्रमा फार्म स्थापना, फलफूल, तरकारी, मसला, नगदेबाली, अन्नबाली, फलफूलको बगैंचा, चिया बगान स्थापना गरिएको गरिएको छ । पशुपालन क्षेत्रमा कुखुराफार्म, गाईफार्म, बाख्राको फार्म, बंगुर फार्म, माछापोखरी स्थापना गरिएको छ । लमजुङमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले सीटीईभीटीको समन्वयमा प्रि-डिप्लोमा बाली विज्ञान तथा पशुपालन संकायका तालिम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...