सेती नदी किनाराको बस्ती संरक्षणमा लाग्दै शान्ति टोल विकास संस्था

पोखरा । पोखरा १ मा रहेको शान्ति टोल टोल विकास संस्थाले सेती नदी किनारामा रहेको बस्ती संरक्षण अभियानमा लागेको छ ।

गत वर्षको वर्षादले शान्ति टोल क्षेत्रमा सेती नदीले कटान गरी बस्ती नै जोखिम भएकोेले उक्त बस्ती संरक्षणको अभियानमा आफुहरु लागी परेको संस्थाका अध्यक्ष विजयी शाहीले बताएका छन् । करिब २४ रोपनी क्षेत्रफलमा २ सय घर भएको सुकुम्वासी बस्तीको संरक्षण गर्ने अभियान अन्र्तगत शुक्रबार डोजर लगायर बस्ती संरक्षणको लागि काम अघि बढाएको अध्यक्ष शाहीले बताए । सेती नदीमा रहेको अव्यवस्थित ढुंगालाई बस्तीको संरक्षण गर्न डोजर लगाएर ढुंगा बस्तीको छेउछाउमा राखिने उनले जनाए ।

उक्त सेती नदी किनारामा डोजर संचालनको लागि पोखरा महानगरले ३ दिनको समय दिएकाले सिमाभित्र नदीमा असर नपर्ने गरी बस्ती संरक्षण गरिने भएको भएको अध्यक्ष शाहीले जनाए । विगत १३ वर्षदेखि विभिन्न जिल्लाका मजदुरले शान्ति टोलमा आश्रयस्थलको रुपमा बस्दै आएको सेती नदीको जोखिम उच्च रहेकोले थप बस्ती संरक्षणमा सरकारको ध्यान जानु पर्ने संस्थाका सल्लाहकार राम बहादुर अधिकारीले बताए । पोखरा महानगरपालिका वडा नम्बर १, महानगरपालिकाको अनुमति लिएर मात्र आफूले बस्ती संरक्षणमा सेती नदी खोलालाई असर नपर्ने गरी खेलौटे ढुंगा संकलन गरी बस्ती संरक्षण अभियानमा लागेको उनले बताए ।

यसैबीच, गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल (जीवन) ले शुक्रबार सेती नदीको जोखिममा रहेको शान्ति टोलको बस्ती अवलोकन गरेका छन् । सेती नदीबाट आवश्यकता भन्दा बढी प्राकृतिक श्रोत ढुंगा, बालुवा निकाल्दा सेती नदीको गहिराई बढेकोले बस्ती समेत जोखिम भएको हुन सक्ने सांसद बरालले बताए । सांसद बरालले निर्माण हुँदै गरेको गाईघाट शवदाह तथा चितास्थलको अवलोकन गरेका छन् ।

राज्यको सम्पत्ति सदुपयोग हुने गरी सेती नदी किनारामा हुने संरचना निर्माणमा ध्यान दिन उनले आग्रह गरे । २६ लाखको लागतमा ४ वटा शवदाहस्थल सहितको संरचना निर्माण कार्य हालै सुरु गरिएको गाईघाट शवदाह तथा चितास्थल निर्माण समितिका अध्यक्ष इश्वरीलाल श्रेष्ठले बताए । गत वर्षको बर्षादले घाइघाट जाने बाटो भत्काएकोले हाल उक्त क्षेत्रमा बाटो सहितको शवदाहस्थल सहितको भौतिक संरचना निर्माण गर्न लागिएको उनले जनाए ।

कमेन्टहरु
Loading...